भद्रपुर/ पछिल्लो समय सामुदायिक वन उपभोक्ता समितिले जङ्गलभित्र खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन शुरु गरेका छन् । 
 
झापामा ५९ ओटा सामुदायिक वन छन् । करिब १८ हजार हेक्टर वन क्षेत्र रहेको छ । वन क्षेत्रमध्ये सीमसारको मात्रै क्षेत्रफल भने डिभिजन वन कार्यालय झापाले छुट्याएको छैन । १५ ओटा स्थानीय तहमा रहेका वनमा प्रायः केही न केही क्षेत्रफलमा जरुवा पानी वा खाली जमिन रहेको छ । मानिसलाई मनोरञ्जन गर्ने स्थान अभाव र वन समितिलाई पनि आम्दानीको स्रोत हुने भएकाले वनको क्षेत्रमा काम गर्ने विज्ञहरूले खाली रहेका जमिनलाई प्रयोगमा ल्याउन थालेका छन् । 
 
झापाको भद्रपुर, कचनकवल, मेचीनगर, कन्काईलगायतका स्थानीय तहका वन क्षेत्रमा सीमसारसहित पर्यटकीय क्षेत्र निर्माण भइसकेका छन् भने कतिपय स्थानमा निर्माण कार्य प्रारम्भ गरिएको छ । स्थानीय तहमध्ये भद्रपुर नगरपालिका–९ को  चन्द्रगढी  सामुदायिक वन उपभोक्ता समितिले सीमसार तथा पर्यटकीय प्रबद्र्घन परियोयना कार्यक्रमलाई अघि बढाएको छ । समितिले सीमसार तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले २० वर्षे गुरु योजना तयार पारेर पहिलो चरणमा ४ हेक्टर अर्थात करिब ६ बिघा क्षेत्रफलमा पोखरी निर्माणको काम शुरु गरेको छ ।
 
वनको कुल क्षेत्रफल ४ सय ३० दशमलव ५९ प्रतिशत छ । २०७० सालमा डिपिआर तयार गरी ९ हेक्टर क्षेत्रफलमा करिब  ९ करोडको लागतमा सीमसार क्षेत्र, मन्दिर, वनभोज स्थल, वाईफाई जोन, बाल उद्यान, तीन वटा झोलुङ्गे पुलसहितको पर्यटकीय स्थलको रूपमा परिणत गरिने वन समितिका अध्यक्ष हिराप्रसाद पोखरेलले बताए । 
 
पहिलो चरणमा आधा क्षेत्रफलमा  पोखरी निर्माण तीन वटा झोलुङ्गे पुल, पोखरी वरिपरि दुई वटा बाटोहरू निर्माण गरिने अध्यक्ष पोखरेलले जनाए । पहिलो चरणको काममध्ये पोखरीको मात्र ८० प्रतिशत सम्पन्न भइसकेकाले अबको एक महिनाभित्र बाँकी काम सम्पन्न गरिने उनले बताए । चालु आर्थिक वर्षमा भद्रपुर नगरपालिकासँग साझेदारी कार्यक्रम अन्र्तगत ५० लाख र भद्रपुर नगरपालिकाले त्यति नै रकम दिने गरी एक करोडको लागतमा  निर्माण कार्य शुरु गरिएको उनले जनाए । एक महिना यताबाट धमाधम निर्माण कार्य भइरहेको उनको भनाइ छ ।
 
चन्द्रगढी सीमसार तथा पर्या–पर्यटन प्रवद्र्धन परियोजना नामाकरण गरिएको उनले जनाए । परियोजना निर्माणको लागि वन समितिका सचिव सकुन्तला पोखरेलको नेतृत्वमा  चार महिनाअघि सात सदस्यीय निर्माण समिति गठन गरेको जनाइएको छ ।  सीमसार परियोजना निर्माणको लागि भद्रपुर नगरपालिका, प्रदेश सरकार, सङ्घीय सरकारले सहयोग गर्ने आश्वासन दिएको भए पनि हालसम्म कुनै निकायबाट आर्थिक सहयोग नआएको उनले जनाए ।
 
वन क्षेत्रफलमा सीमसारको क्षेत्रफल नछुट्याएको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जनाए । हालसम्म १९ ओटा सामुदायिक वनबाट सीमसारको लागि प्रक्रियामा आइसकेको उप्रेतीले जानकारी दिए । साविक चन्द्रगढी गाविस वार्ड–२, ३, ४, ५, ६ र ९ गरी २२ सय ३७ उपभोक्ता रहेका छन् ।