काँकडभिट्टा / झापाको मेचीनगर वरपर रङ्गीचङ्गी चराहरू देखिन्छन् । चराहरूको खोजी र अनुसन्धानमा सक्रिय फोटोग्राफर देवेन्द्र खरेल मेचीनगरलाई चराको शहर चिनाउँछन् । 
 
चरा खोज्दै नेपालका विभिन्न जिल्लादेखि भारतका विभिन्न राज्य पुगेका देवेन्द्रले ती ठाउँहरूमा ४ सय प्रजातिका चराहरू भेटे ।  त्यसमध्ये २ सय ५० प्रजातिका चराहरू मेचीनगरपालिकामै भेटेको उनी बताउँछन् । उनी भन्छन्, ‘वन, ताल र खोला भएकाले यहाँ अन्यत्रभन्दा बढी चराहरू बस्छन् । यहाँ दुर्लभ चराहरू पनि भेटिएका छन् । मेचीनगर चराहरूको शहर हो ।’
 
उनका अनुसार मेचीनगर क्षेत्रमा रानीचरी, हरियो लामपुच्छ्रे, चित्राङ्से चील, शाहीबाज, राजधनेश, जुरेरुप्पी, सिलसिले हाँस, नीलकण्ठे भइँचर, हुटिट्याउँलगायत सयौँ प्रजातिका चराहरू भेटिएका छन् । तीन वर्षदेखि चराहरूको अध्ययन र खोजीमा लागेका उनले शुरुमा मेचीनगरबाटै चराको विषयमा खोजी गर्न थाले । अहिले नेपालका विभिन्न जिल्ला र भारतसम्म पुगेर दुर्लभ चराहरूको अध्ययन गरिरहेका छन् ।
 
देवेन्द्र नेपालका सबै जिल्ला घुमेर दुर्लभ चरा खोजी गर्न र उनीहरूको संरक्षणको काम गर्न चाहन्छन् । त्यसपछि अन्तर्राष्ट्रिय रूपमा चराहरूको फोटो खिच्ने फोटोग्राफरहरूको सम्मेलन गर्ने इच्छा छ । नेपालमा वन्यजन्तु संरक्षणका लागि निकुञ्ज स्थापना भए पनि सरकारले चराहरूको संरक्षण क्षेत्र नतोकेकोमा उनको गुनासो छ ।  ‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । धेरै विदेशी पर्यटकहरू नेपालमा चराहरू खोज्न आउँछन् तर यहाँ चरा संरक्षण क्षेत्र नै छैन’–उनले दुखेसो व्यक्त गर्दै भने ।