इटहरी/ कोशीटप्पु वन्यजन्तु आरक्षक्षेत्रमा रैथाने रूपमा बस्दै आएको मकुना हात्तीले पूर्वका तीन जिल्लासँगै भारतमा समेत विध्वंस मच्चाएको छ । 
 
फागुन २१ गते भारततर्फ गएको मकुना हात्तीले आक्रमण गर्दा  भारतको सुपौल जिल्ला क्षेत्रमा पाँचजनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएको कोशीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।
 
आरक्षका हात्तीले सुनसरी, सप्तरी र उदयपुरको आरक्षक्षेत्र आसपास पाँचवर्ष अघिदेखि नै विध्वंस मच्चाउँदै आएका छन् । आरक्षका सहायक वार्डेन गणेश तिवारीले भारततर्फ गएको हात्तीको आक्रमणबाट तीनदिनमा पाँचजनाको मृत्यु र नौ जना घाइते भएको सूचना आएको बताए । 
 
‘भारतको भीमनगरमा पुगेको हात्ती हेर्न दुईहजार हाराहारीको भीड लागेको भीमनगरका अनिल पौवेले बताए । बस्तीमा पसेको हात्तीलाई स्थानीयले जिस्क्याएपछि हात्ती आक्रमणमा उत्रिएको स्थानीयको भनाइ छ । जङ्गली हात्तीको आक्रमणबाट कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रका धेरै सर्वसाधारणको मृत्यु भइसकेको छ । हात्तीको आक्रमणबाट आर्थिक वर्ष २०७४÷७५ मा हात्ती आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७३/७४ को अवधिमा पनि ६ जनाकै मृत्यु भएको थियो । कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासका भाले हात्तीहरू घुम्ने गरेका छन् ।
 
आरक्षमा रैथाने रूपमा रहने हात्तीको सङ्ख्या १० देखि १२ छ । यीमध्ये सबैभन्दा बढी क्षति मकुना हात्तीबाटै हुने गरेको छ । मकुना हात्तीबाहेक दाह्रा काटेको हात्ती र सानो दाह्रे हात्तीले बढी क्षति पुर्याउँदै आएको आरक्षका सहायक वार्डेन तिवारीले बताए । हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति विद्युतीय घेराबारा गर्ने कार्य चलिरहेको छ । अहिलेसम्म तीनवटा जिल्लामा गरेर २० किलोमिटर विद्युतीय घेराबारा भइसकेको छ । साढे ६ किलोमिटरको विद्युतीय घेराबारा गर्न टेण्डर लागिसकेको छ । अब १४ किलोमिटरका लागि टेण्डर लाग्ने तयारीमा रहेको छ । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन् ।
 
त्यस्तै आरक्षमा चितुवा पनि छाड्ने तयारी भएको छ । सप्तरी कञ्चनरूप नगरपालिका वडा नं. २ मा फागुन १ गते फेला पारेर आरक्षको केयर हाउसमा राखिएको चितुवालाईं सेटलाइट रेडियो कोलार लगाएर छाड्ने तयारी भएको हो । कोशी टप्पुमा रहेको चितुवा झण्डै तीनवर्ष उमेर र ४४ केजी तौलको छ । चितुवाको बाँच्ने आयु अधिकतम् १७ वर्षसम्म हुन्छ । आरक्षमा रहेको चितुवा चुरेको फेदीबाट बस्तीमा आएको अनुमान गरिएको छ । चितुवा बस्तीमा आउँदा आक्रमणमा परी पाँचजना घाइते भएका थिए ।