इटहरी/ इटहरीमा सक्रिय राजनीतिक दलका नेता तथा सरोकारवालाको दुई मत छैन । यस अघि पनि इटहरीमा सर्वपक्षीय सहभागितामा राजधानीका लागि दबावमुलक कार्यक्रम भएका थिए । 
 
विराटनगर अस्थायी राजधानी तोकिएपछि आन्दोलन सेलायो । अस्थायी राजधानीमा बसेर प्रदेश सरकारले काम थालेको एक वर्ष बढी भएको छ । ०७४ फागुनमा मुख्य मन्त्री शेरधन राईले राजधानी नाम र स्थान पहिलो प्राथमिकतामा चाँडै घोषणा गर्ने भने पनि अझै पनि टुङ्गो लगाउन सकेका छैनन् ।
 
इटहरी राजधानी बनाउन दबाव दिने उद्देश्यले गठन भएको राजधानी सरकोकार समाजले शनिबारबाट फेरि सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । यो सबैको साझा एजेण्डा भएको भन्दै सहभागिताको लागि राजधानी सरोकार समाजका संयोजक इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले शुक्रबार पत्रकार सम्मेलन गरेर आग्रह पनि गरेका छन् । समाजका संयोजक एवम् मेयर चौधरीले वैधानिक सङ्घर्षलाइ नै जोड दिएको बताएका छन् । तर, सङ्घर्षको कार्यक्रम फितलो हुनेमा इटहरीकै राजनीतिक दलका नेताहशले आशङ्का गर्दै खबरदारी गरेका छन् ।
 
तर, नेकपाका नेता रामप्रसाद चौलागाईंले नै सरोकार समाजको सङ्घर्षको कार्यक्रम फितलो हुनेमा आशङ्का व्यक्त गर्दै भने ‘राजधानी प्राप्त हुने जस्तो विषयको आन्दोलन कर्मकाण्डी नहोस्, केन्द्रीय नेताले बोलेकै कुरा हो, भूगोलले पनि साथ दिएको छ । इटहरीले केही न केही पाउनु पर्छ ।’  ‘धरान साँघुरो छ, विराटनगर अस्तव्यस्त भयो, प्रदेशको राजधानी इटहरी नै हो ।’
 
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले इटहरीमै आएर बोलेको कुरा स्मरण गराउँदै उनले भने ‘केन्द्रीय नेताकै डिजाइनमा कोशी प्रदेश र विराटनगर राजधानी तोक्ने लगभग तयारी भएको छ यदि यो अवस्था आयो भने त्यसलाई विरोध गरेर जान सक्ने  कि नसक्ने ?’  उनले प्रश्न गरे । चौलागाईंले इटहरी राजधानी नदिने केन्द्रीय नेताहरूलाई भोलि यो बाटोमा रोक्न सक्ने क्षमता राख्नु पर्नेमा जोड दिए । पत्रकार सम्मेलनमै नेपाली काङ्ग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले त राजधानी सरोकार समाजलाई नै विगठन गरेर कडा र विकल्पसहितको आन्दोलनमा जानु पर्ने बताए ।
 
‘पर्यो भने पार्टीको निर्णयभन्दा माथि उठेर इटहरीका लागि सङ्घर्ष गर्नुपर्ने हुन्छ’ पौडेलले थपे ‘मेयर सा‘प अघि बढ्न सक्ने कि नसक्ने ? कि अगाडि बढाउनु होस् कि यो जिम्मेवारी छाडिदिनुहोस् ।’ आफू पार्टीको झण्डाभन्दा माथि उठेर राजधानीका लागि सङ्घर्ष गर्न तयार रहेको जनाउँदै उनले आन्दोलनको मोडल फेरेर निर्णय गर्नुपर्नेमा उनले जोड दिए । पर्याप्त छलफल गरी केही न केही पाउने हिसाबले दबाव सिर्जना गर्नुपर्ने उनले बताए । कार्यक्रममा इटहरी राजधानीका लागि गठन गरिएको विज्ञ समूहका डा. दिवाकर रेग्मीलगायलते पनि इटहरी राजधानी हुने आधारसहित दबाव सिर्जना गर्नुपर्नेमा जोड दिए ।