पाँचथर/ फिदिम नपा–२ पल्लोटारमा निर्मित स्थायी बसपार्क स्थानीयले जग्गा उपलब्ध गराएको दुई दशकपछि गत २९ मङ्सिरमा दोस्रो पटक उद्घाटन भयो । 
 
बसपार्कको १ बैशाख ०७१ मै पहिलोपटक तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गरेका थिए । तर पूर्वाधार नबनी उद्घाटन गरिएको भन्दै यातायात व्यवसायीले बसपार्कमा सवारी साधन नलगेपछि सञ्चालनमा आएन । त्यसपछि आवश्यक पूर्वाधार पूरा गरी झण्डै पाँच वर्षपछि दोस्रो पटक निकै तामझामकासाथ त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बसपार्क उद्घाटन गरे । 
 
तर त्यसपछि पनि बसपार्क कार्यान्वयनमा नआएपछि फिदिम नगरपालिका कडा रूपमा प्रस्तुत भएको छ । बसपार्कमा टिकट काउण्टर, सुरक्षा पोस्ट, यात्रु प्रतीक्षालय, शौचालय, स्नान कक्ष, स्टोर रुमलगायतका आवश्यक पूर्वाधार तयार छन् । यति हुँदा पनि यातायात व्यवसायीले विभिन्न बहाना गरेर बसपार्कमा सवारीसाधन पार्किङ नगर्ने र यात्रु ओराल्ने–चढाउने नगरेपछि नगरपालिका कडा रूपमा प्रस्तुत भएको छ ।
 
नगरपालिकाले हालै एक सूचना जारी गर्दै अटेर गर्ने सवारी साधनलाई कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाले जारी गरेको सूचनामा बसपार्कभन्दा बाहिर अवैध रूपमा बस तथा ट्याक्सी काउण्टर सञ्चालन भएको पाइएमा प्रथम पटक पाँच सय रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र त्यसपछि पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।
 
त्यस्तै नगर कार्यपालिकाको बैठकले यात्रुवाहक सवारी साधनलाई फिदिम बजारभित्र प्रवेशका लागि ३० मिनेटको समय उपलब्ध गराउने निर्णय भएको मेयर ओनाहाङ नेम्बाङले बताए । उक्त समयसीमा उलङ्घन गर्नेलाई पनि पटकका आधारमा कारबाही गरिने मेयर नेम्बाङले बताए ।
 
नगरपालिकाले बजारक्षेत्रभित्र यात्रु ओराल्न र चढाउनका लागि चार स्थान तोकिदिएको छ । जसअनुसार अब सवारी साधनले फिदिम बजारको आहालगैरी, मेन रोडस्थित लक्ष्मी बैङ्क अगाडि, शनिबारे चोक र जिल्ला अदालत छेऊको वरडाँडाबाट मात्र यात्रु ओराल्न र चढाउन पाउँनेछन् । तोकिएको क्षेत्रभन्दा अन्य स्थानबाट यात्रु ओराल्ने–चढाउने गरेको पाइएमा पनि प्रथमपटक पाँच सय, दोस्रोपटक एक हजार र त्यसपछि पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिवाना गरिने बताइएको छ ।
 
प्रत्येक यात्रुवाहक सवारी साधनले बसपार्कबाट अनिवार्य प्रवेशपास लिनुपर्ने नियमलाई पनि कडाइकासाथ लागू गरिने नगरपालिकाका प्रकाशकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । नगर कार्यपालिकाको निर्णय बिहीबारदेखि लागू भएको नगरपालिकाले जनाएको छ । नियम उलङ्घन गर्ने जुनसुकै सवारी साधनलाई पनि कारबाहीको दायरामा ल्याउने नगरपालिकाले बताएको छ ।
 
यातायात व्यवसायीले बसपार्कमा पार्किङका लागि सवारीसाधन नलाने गरेको पाइएको छ । सवारीसाधन बसपार्कमा प्रवेशपास लिनमात्र आउँदा बसपार्क कार्यान्वयनमा समस्या भएको बसपार्कस्थित प्रहरी सुरक्षा पोस्टले जनाएको छ । मानिसहरू टिकट काट्न बसपार्क आउने गरेको तर टिकट काउन्टर खाली हुँदा सम्पर्क नम्बर दिएर पठाउने गरेको सुरक्षा पोस्टमा खटिएका एक प्रहरी कर्मचारीले बताए ।
 
यातायात व्यवसाय निलम गिरीले भने बसपार्क कार्यान्वयन हुन नसक्नुमा प्रमुख कमजोरी नगरपालिकाको रहेको बताए । सबै यातायात व्यवसायीलाई बजार छाडेर बसपार्क पठाउनसके यो समस्या समाधान हुने गिरीको भनाइ छ । बसपार्क नयाँ सहर आयोजनाको कार्यालयको एक करोड ८७ लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो ।