पथरी/ मोरङ पथरीशनिश्चरे–७ का २६ वर्षीय षडराज तामाङको मृत्यु भएको दुई साता बितिसक्दा पनि दाहसंस्कार भएको छैन ।
 
फागुन १६ गते राति स्थानीय सिक्का बार एण्ड लाउञ्जका सञ्चालकसँग झगडा गरेका तामाङको केही समयपछि बार नजिकै शव फेला परेको थियो । अस्पतालमा राखिएको शव जलाउनका लागि भन्दै परिवारले केही दिनअघि चिता तयार पारेको थियो । तर परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेपछि शव जलाइएन । परिवारले प्रहरीको समेत मिलेमतो रहेको आशङ्का गर्दै अपराधी पत्ता नलागेसम्म दाह संस्कार नगर्ने अड्डी कसेको छ ।
 
प्रहरीमा किटानी जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईंले दर्ता नगरेको परिवारको भनाइ छ । प्रहरीले अपराधी पत्ता लगाउन अनुसन्धानसमेत नगरेको परिवारको आरोप छ । मृतक तामाङकी भाउजू आङ्रिता, दिदी टीका र दाजु ज्ञानु तामाङले कसैको प्रहारबाट हत्या भएको भन्दै इलाका प्रहरी कार्यालयमा शङ्कास्पद व्यक्तिहरूको नामसहित जाहेरी दिएका थिए । तर इन्स्पेक्टर बजगाईंले जाहेरीमा नाम परेकाहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुको साटो उल्टै तामाङको मृत्यु चार तलामाथिबाट खसेर भएको भन्दै प्रचार गर्दै आएको मृतककी दिदी टीका बताउँछिन् ।
 
इन्स्पेक्टर बजगाईंले शुरुमा जाहेरी दर्ता गरे पनि किटानी जाहेरी भने दर्ता नगरेको परिवारको भनाइ छ । सोही कार्यालयका सई यादव गौतमले जाहेरी दर्ता नभएको बताए । उता इन्स्पेक्टर बजगाईंलाई जाहेरीबारे सोध्दा सई गौतमलाई सोध्नू भनेर पन्छिने गरेका छन् । किटानी जाहेरीमा नाम परेकाहरू बजारमा खुलमखुल्ला हिँडिरहेका छन् । 
 
सई गौतम एकमहिनापछि पेन्सनमा घर फर्किने भएकाले इन्स्पेक्टर बजगाईंले किटानी जाहेरी उनको टाउकोमा लगाएको भन्दै पीडित परिवारले प्रहरीहरू आर्थिक चलखेलमा फसेको आशङ्का गरे । स्थानीयका अनुसार इन्स्पेक्टर बजगाईले राम्रोसँग अनुसन्धान नै नगरी प्रहरीको माथिल्लो निकायमा तामाङको मृत्यु आफै लडेर भएको भन्ने रिपोर्ट गरेका छन् । पथरीशनिशरे नगरपालिकाकी  उपप्रमुख यमुना बास्तोलाले दोषी पत्ता लगाएर कारबाही गरिनुपर्ने बताइन् । उनले इन्स्पेक्टर बजगाईले शान्ति सुरक्षामा प्रभावकारी काम गर्न नसकेको बताइन् ।
 
नेकपाका १ नम्बर प्रदेश सदस्य युवराज बाँस्कोटाले तामाङको हत्यारा पत्ता लगाई कारबाही गरिनु पर्ने धारणा बताए । त्यस्तै नेपाली काङ्ग्रेसको ३, नम्बर क्षेत्रीय सभापति गणेश खड्काले पनि दोषी पत्ता लगाई कारबाही गरिनु पर्ने बताए ।