काठमाडौं/ नयाँ वर्षको अवसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’ को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ ।
 
बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबार साँझ यो गीतको भिडियो रिलिज गरिएको हो । चलचित्र लिलीबिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाइएको छ । 
 
अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा एउटा लोक ब्याण्डका भोकलिस्ट (गायक) हुन्छन् । यो गीतबारे उनले भने, ‘लभ स्टेशन क्याफेमा म आफ्नो ब्याण्डसहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रशंसामा यो गीत गाउँछु ।’
 
यो चलचित्रमा आफू कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् ।