बीबीसी/ हङ्‌कङमा प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अघिसम्म पनि अजितकुमार यादवले भिसा हात पारेका थिएनन्। पाँच दिनअघि किनेको हवाई टिकट पनि सारिसकिएको थियो।

पहिलो पटक विदेशमा खेल्न जाने मौका गुम्ने जोखिम बढेपछि १७ वर्षीय यादवले हताश हुँदै प्रशिक्षक धनीराम चौधरीलाई भने, 'गुरु, यस्तै रहेछ१ विदेशमा खेल्नु मेरो भाग्यमा नै रहेनछ। अब छोडौँ।'

तर तिनै यादवको गलामा २४ घण्टापछि सुनको तक्मा झुन्डिएको थियो। एशियाली जुनियर स्तरमा स्वर्ण पदक जित्ने पहिलो नेपाली धावकका रूपमा इतिहासमा उनको नाम अङ्कित भइसकेको थियो।

अन्योलदेखि कीर्तिमानको गौरवपूर्ण क्षणसम्म उनको यात्राको कथा साँच्चै अनौठो छ। उनकै शब्दमा 'फिल्मका लागि कल्पनामा बुनिने कथाजस्तै।'

खासै नाम नसुनिएका यी धावकले अन्तर्राष्ट्रिय पदक जित्दा सामाजिक सञ्जालमा पनि राम्रै चर्चा भयो।

को हुन् अजितकुमार यादवर ?

अजितकुमार यादवको घर सप्तरी जिल्लाको राजविराज हो।

उनी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हुर्काएका प्रतिभा हुन्।

कीर्तिपुर मच्छेगाउँस्थित एपीएफ स्कुलमा आठ कक्षामा अध्ययनरत हुँदा उनी शिक्षा दिवसको अवसरमा आयोजित रोड रेसमा तेस्रो भएका थिए।

त्यसबापत पाँच हजार रुपैयाँको पुरस्कार पाएका थिए। त्यो समाचार पत्रिकामा छापिएपछि उनलाई एथ्लेटिक्स मोहले छोयो।

अरू प्रतियोगितामा पनि उनले राम्रो प्रदर्शन गरे। विद्यालय खेलकुदको रूपमा रहेको राष्ट्रपति रनिङ शील्डमा मध्यदूरीमा उनी सर्वोत्कृष्ट हुन्थे।

पछिल्ला दुई वर्षमा सिनियर खेलाडीहरूसँगै खुल्ला प्रतिस्पर्धामा उनी देखिन थालेका छन्। खुल्ला काठमान्डू म्याराथनको पाँच किलोमिटरमा उनी लगातार दुई वर्ष विजेता बनेका छन्।

आजसम्म आइपुग्दा उनले केही महत्त्वपूर्ण कीर्तिमान कायम गरिसकेका छन्।

केही मुख्य खेलका उपाधि र नगद पुरस्कार पाएका उनमा प्रभावशाली खेलाडी बन्ने सम्भावना देखिएको छ।

उनले पन्ध्र सय मिटर दौडमा चार मिनेट दुई सेकेन्डको राष्ट्रिय कीर्तिमान तथा पाँच किलोमिटर दौडमा आठ मिनेट ४४ सेकेन्डको कीर्तिमान राखेका छन्।

अबको उनको लक्ष्य के होर ?

यादव भन्छन्, 'नेपालमै हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुदमा कुनै न कुनै पदक छुने।'