धरान/धरानमा सर्वसुलभ मूल्यमा विद्यार्थीहरूको पोसाक, झोला, जुत्ता एकैथलोमा पाउने गरी पसल सञ्चालनमा आउँदै छ । जहाँ धरानका ९० प्रतिशतभन्दा बढी विद्यालयको पोसाकसहितका सामग्री एकैथलोमा पाइने छ ।

धरानका युवा व्यवसायी फिरोज अली र मोहम्मद साफिरको ७५ लाख रुपैयाँको लगानीमा धरान–२ गणपति मिनी मार्केटमा पसल सञ्चालन ल्याएका हुन् । शनिबारदेखि पसल सञ्चालनमा आउने भएको छ । पसलमा नेपालको वीरगञ्जमा बनेको नोबेल ब्राण्डका कपडाहरू उपलब्ध गराइने भएको छ ।

विद्यार्थीहरूको पोसाक, जुत्ता तथा झोलामा अभिभावकहरू व्यापक ठगिँदै आएको गुनासोका आधारमा अली र साफिरले सुपथ मूल्यमा प्रदान गर्ने गरी पसल सञ्चालनमा ल्याएको बताए । पोसाक सिलाइका लागि पसलले आफ्नै सिलाइ कारखानासमेत सञ्चालनमा ल्याएको छ । जसअनुसार दुई वटा पेन्ट, दुई वटा सर्ट, कोट, र सिलाइ ज्यालासहित साढे ९ हजार रुपैयाँमा प्रदान गर्न लागेका छन् ।

‘धरानको लागि यो एकदमै नोमिनल मूल्य हो ।’ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका केन्द्रीय सचिवसमेत रहेको व्यवसायी अलीले भने, ‘हाम्रो उद्देश्य अभिभावकहरू मारमा नपरुन् भन्ने हो ।’ अहिले धरान बजारमा उक्त बराबरको सामग्री सिलाउँदा झण्डै १४ देखि १६ हजार रुपैयाको हाराहारीमा मूल्य पर्न आउँछ । नेपाल युनिफर्म हाउस तथा नेपाल ब्याग शु सेन्टर नाम दिइएको पसलमा फुटल्याण्ड कम्पनीको जुत्ता राखिएको छ ।

पसलमा करिब धरानका ९३ वटा स्कुलका कपडा, जुत्ता तथा झोला पाउने व्यवस्था गरिएको दाबी सञ्चालकहरूको छ । हालसम्म १५ वटा विद्यालयसँग सहकार्य भइरहेको अलीले जानकारी दिए । ‘गुणस्तरीयतामा कम्प्रमाइज हुँदैन’ उनले फोनसम्पर्कमा भने, ‘नोबेल नेपालको ब्राण्डेड कम्पनी हो । तपाईंले जहाँ, कहीँ पनि बुझ्न सक्नुहुन्छ ?’ अहिले अभिभावकहरूले आफ्ना नानीहरूका लागि हरेक सामग्री फरक–फरक पसलमा किन्नुपर्ने बाध्यता छ । ‘हामीले त्यो बाध्यता हटाउने प्रयास गरेको मात्रै हो ।’ अर्का सञ्चालक साफिरले भने, ‘अभिभावक र नानीहरू पनि नठगिउन् भन्ने पनि हो ।’ अन्य पसलभन्दा ३५ प्रतिशतसम्म छुट रहेको छ ।