दमक/ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा आउँदा स्थानीयहरू खोलाले दुःख दिएको गुनासो गर्छन् । ओली पनि प्रत्येक पटक आश्वासन दिन्छन् । गत चुनावका बेला उनले भाषण गर्र्दै भनेका थिए, ‘झापाका नदीहरूका पाता कस्छु ।’
 
ओलीले धेरै वटा चुनावका बेला यस्ता आश्वासन दिए । अहिले पनि झापा आउँदा पुरानै भाषण दोहोर्याउँछन् । तर उनले दिएका आश्वासन र भाषणमा बोलेका कुरा अहिलेसम्म पूरा भएका छैनन् । दमक–१० स्थित सेतुमारीकी मूना कोइरालाले केही वर्षअघि मावा खोलामा आएको बाढीका कारण थातथलो नै छोड्नु पर्यो । मावामा आएको बाढीले उनको घरसहित सम्पूर्ण सामान बगाइदियो । गोठमा बाँधेका गाईवस्तुलाई समेत भेलले बगाएपछि हम्मे–हम्मेले ज्यान जोगाएकी कोइराला अझै पनि आकाश गड्याङ–गुडुङ गर्दा आत्तिन्छिन् ।
 
आकाशमा कालो बादल लाग्ने बित्तिकै उनलाई आफ्नो घरखेत बगाएको कहालीलाग्दो दिनको याद आउँछ । त्यसपछि उनी ओलीको त्यही पुरानो भाषण सम्झिन्छिन् । उनी भन्छिन्, ‘हाम्रा नेताले रतुवा, मावाको  पाता  कहिले फर्काइदेलान् र ढुक्कको सास फेर्न पाइएला ?’ प्रधानमन्त्री ओली मात्र होइन, यहाँका स्थानीय नेताले समेत पटक–पटक मावा र रतुवाको पाता फर्काउने कुरा गरे । नेताहरूका कुरा सम्झिँदा उनको मन प्रश्नै प्रश्नले भरिन्छ । उनी भन्छिन्, ‘वर्षौंदेखि एउटै कुरा सुन्दै आइएको छ । नेताहरूका आश्वासन कहिले पूरा होलान् खै ?’ 
 
मावा खोलामा आएको बाढी गाउँमा नपसोस् भनेर अहिले ३ किलोमिटरक्षेत्रमा माटोको ढिस्को जस्तै सामान्य बाँध निर्माण गरिएको छ । यो बाँध करिब ५ मिटर उचाइको निर्माण गरिएको दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले बताए । जनताको मागअनुसार अझै पनि तटबन्धको व्यवस्था हुन नसकेको वडाध्यक्ष न्यौपानेको भनाइ छ । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत करिब ५ करोडको लागतमा मावा खोलामा ३ किलोमिटरमाटोको अस्थायी बाँध निर्माण गरिएको छ । तर ठूलो भेल आउँदा नथेग्ने भएकोले तारजाली र ढुङ्गासहितको स्थायी बाँध निर्माण हुनुपर्ने उनले बताए ।
 
झापामा मुख्य १० वटा ठूला नदी र खोला छन् । यी खोलाले हरेक वर्ष वर्षामा क्षति गर्ने गरेका छन् । तर सरकारको ‘जनताको तटबन्ध’ कार्यक्रमले ६ वटा नदी तथा खोलामा मात्र बाँध निर्माण गर्ने काम गरिरहेको छ । रतुवा, मावा, कमल, कन्काई, बिरिङ र यो वर्षदेखि मेची नदीमा पनि बाँध निर्माण गर्ने योजना छ । तटबन्ध कार्यक्रमका प्रमुख मेखनाथ शर्माका अनुसार अहिलेसम्ममा जिल्ला ६ वटा खोला, नदीमा गरी ४२ किलोमिटर मात्र बाँध निर्माण गरिएको छ । यो कुल कामको जम्मा १५ प्रतिशत मात्र हो । उनले भने, ‘जम्मा ३ सय १७ किलोमिटर बाँध निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म कुल लम्बाइको ४२ किलोमिटर मात्र निर्माण भएको हो ।’
 
झापाका नदी नियन्त्रणका लागि आर्थिक वर्ष २०६६÷६७ मा पहिलो पटक ११ करोड ८९ लाख ७८ हजार बजेट आएको थियो । त्यसयता निरन्तर फरक–फरक बजेट आएका छन् । हालसम्ममा १ अर्ब ६८ करोड ७० लाख ४४ हजार ७ सय ८२ रुपैयाँ रकम विभागले पठाइसकेको छ । अझै १ अर्ब बढीको बजेट आवश्यक पर्ने र सोहीअनुसारको डिपीआर गरी विभागमा बहुवर्षीय ठेक्काका लागि प्रस्तावना पत्र पठाइएको शर्माले बताए ।