बेलबारी/ मोरङको केराबारी गाउँपालिका–९ मा रहेको घङ्घरु र बेलचौरी जोड्ने पुलको निर्माण कार्य अहिलेसम्म शुरु हुन सकेको छैन । 
 
केराबारी–९ को भलुवा घङ्घरु खण्ड र बेलचौरी जोड्ने तुर्के खोलामा नेपाल सरकारले २०७१÷७२ सालमा नै बोलपत्र आह्वान गरी ३ करोड ६० लाखमा ठेक्का लगाएको थियो । निलगिरी निर्माण कम्पनीले ठेक्का लिए पनि काम अधुरो छाडेर सम्पर्कविहीन भएको थियो । ठेक्का लागेको पाँचवर्ष बितिसक्दा पनि पुल नबनेपछि स्थानीय बासिन्दाले प्रत्येक वर्ष बाढीको सास्ती खेप्दै आएका छन् । 
 
अब फेरि वर्षात्को समय नजिकिँंदै छ । यो साल पनि पुल नबन्ने भएपछि स्थानीय बासिन्दा रुष्ट भएका छन् । जनप्रतिनिधिहरूलाई पटक –पटक यस विषयमा कुरा राखेको स्थानीय रुद्र सापकोटा बताउँछन् । उनी भन्छन्, ‘ठेकेदारको लापरबाहीको कारण अहिलेसम्म पुल निर्माण हुन सकिरहेको छैन ।’
 
हरेक चुनावका बेला नेताहरूले मोरङको केराबारी गाउँपालिका–९ स्थित तुर्के खोलाको पुल बनाउने आश्वासन दिँदै आएका छन् । तर जितेर जाने नेताहरूले पुलको विषयलाई प्राथमिकतामै नराखेको स्थानीय बताउँछन् । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा आफूले ठेकेदारसँग पुल निर्माणको विषयमा स्पष्ट कुरा राखेको बताउँछन् । उनले भने, ‘निलगिरी कम्पनीले पुल निर्माण कार्य शुरु नगरे कारबाही प्रक्रियामा जान्छौं ।’
 
उता निलगिरी कम्पनीका युवराज डाँगीले अब चैत्र ९ गतेबाट पुलको निर्माण कार्य शुरु हुने बताएका छन् । सो स्थानमा करिब तीन साताअगाडि निर्माण सामग्रीहरू ल्याएका थिए । ठेकेदार डाँगीले वैशाख १५ सम्ममा एउटा बिम बनाइसक्ने बताएका छन् ।