विराटनगर/ पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्न नेपालले घरेलु मैदानमा श्रीलङ्काको सामाना गर्दै छ । 
 
समूह ‘ए’ को विजेता बनेको नेपालले आज (बुधबार) श्रीलङ्काको सामाना गरिरहेको हो । श्रीलङ्काले  समूह ‘बी’ को उपविजेता बन्दै नेपालसँग भेट पक्का गरेको हो । बुधबार दुई खेल हुँदैछन् । विराटनगरस्थित शहीद रङ्गशालामा पहिलो खेल नेपाल र श्रीलङ्काबीच ११ बजे हुँदैछ । दोस्रो खेल दिउँसो ३ बजे भारत र बङ्गलादेशबीच हुँदै छ ।
 
भारत समूह ‘बी’ को विजेता टिम हो । नेपाल श्रीलङ्कालाई हराएर फाइनल पुग्ने लक्ष्यको साथ मैदान उत्रिने तयारी गरेको छ । नेपाललाई प्रतियोगिताकै बलियो टिमको रूपमा हेरिएको छ । समूह ‘ए’ को विजेता बनेर दोस्रो सेमिफाइनलमा पुगेको नेपालले दुई खेलमा गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बङ्गलादेशलाई पनि ३–० गोलले नै हराएको थियो । बङ्गलादेश गत वर्षको साफ महिला च्याम्पियनसिपको उपविजेता टिम हो । 
 
आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलङ्काले दोस्रो खेलमा भने भारतसँग ५ गोल खायो । यसर्थमा पनि श्रीलङ्काभन्दा नेपाली टिमको मनोबल उच्च छ । नेपालको तुलानामा कमजोर देखिएको श्रीलङ्काले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिप पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । विगतका वर्षहरूमा श्रीलङ्काले नेपालसँग पाँच खेल खेलेको छ । जसमा पाँचै पटक नेपालले जित निकालेको छ ।
 
पाँच खेलमा नेपालले श्रीलङ्कालाई जम्मा १९ गोल गरेको छ  । श्रीलङ्काले नेपाललाई एक गोल पनि गर्न सकेको छैन । आफ्नै घरेलु भूमि र दर्शकको साथको भरपूर फाइदा उठाउँदै सेमिफानलमा श्रीलङ्कासँग आक्रमक खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् । यता श्रीलङ्काका मुख्य प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले नेपालसँग सेमिफाइनलमा  आक्रामकरूपमा प्रस्तुत हुने बताए । यो पटक राम्रो तयारी गर्न नपाए पनि आक्रमकरूपमा मैदान उत्रिने बताए । ‘चार महिनाको तयारी गरेर आएका हौं,’ उनले भने, ‘छोटो समय गरेको अभ्यासलाई कार्यान्वयन गर्दै जीत आफ्नो पक्षमा पर्नेछौं ।’
 
श्रीलङ्कासँग आक्रमक खेल्नेछौं : प्रशिक्षक खड्का 
नेपाली टीमका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल यात्रा तयका लागि टोली तयार रहेको बताए । उनले श्रीलङ्काविरुद्ध खेल्नुअघि फाइनल पुग्न खेलाडीहरू मानसिक र शारीरिक रूपमा तयार रहेको भन्दै तुलनात्मकरूपमा कमजोर मानिएको श्रीलङ्कामाथि आक्रामक खेल प्रदर्शन गर्ने योजना रहेको जनाए । ‘प्रतिद्वन्दीलाई कमजोर मान्ने छैनौ । खेल हेर्दा हामी बलियो छौ,’ प्रशिक्षक खड्काले भने, ‘श्रीलङ्कालाई इज्जत गरेर खेल्नेछाैं । अभ्यासमा सिकेको कुरालाई मैदानमा कार्यान्वयन गर्नेछौ ।’
 
डिफेन्समा जोड दिएर काउण्टर आक्रमणको प्रयास गर्ने उनले बताए । ‘श्रीलङ्काको डिफेन्सलाइन तोड्ने विषयमा खेलाडीलाई अभ्यास गराएको छु,’ उनले भने । नेपालको आक्रामक खेललाई निरन्तरता दिने बताउँदै प्रशिक्षक खड्काले श्रीलङ्काविरुद्व होसियार भएर प्रस्तुत हुने जनाए । नेपाली टिमकी कप्तान निरु थापाले प्रतिद्वन्द्वीलाई कमजोररूपमा नलिई सतर्क भएर खेल्ने बताएकी छन् । टिमले राम्रो प्रदर्शन गर्दै आइरहेको र सेमिफाइनलका लागि अझै मिहिनेत गर्ने उनले बताइन् । श्रीलङ्का राम्रो टिम भएकाले आफूहरू मेहनत गरेर खेल्नुपर्ने उनले बताइन् । ‘हाम्रो आक्रमण समेत राम्रो छ,’ उनले भनिन्, ‘डिफेन्ससमेत उत्कृष्ट छ । मिडफिल्डले सहयोग गरेमा गोल गर्न सजिलो हुनेछ ।’