धरान/ मिस नेपालको २५ औं संस्करणका लागि धरानबाट तीन युवती छनोट भएका छन् ।
 
मङ्गलबार होटल गजुर प्यालेस धरानमा भएको अडिसनका लागि जम्मा १५ युवतीले फाराम भरेका थिए । त्यसमध्ये उचाइ नपुगेका कारण १२ जनाले अडिसनै दिन नपाएको आयोजकले जनाएको छ ।
 
मिस पूर्वाञ्चल २०१८ विजेता पूजा श्रेष्ठले मिस नेपालका लागि सिधा प्रवेश पाएकी छन् । मिस नेपाल २०१९ का लागि प्रतिस्पर्धी खोज्न आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती र मिस नेपाल २०१६ की मिस नेपाल इन्टरनेशनल वर्षा लेखी धरान आइपुगेका थिए ।
 
आयोजकले धरानलगायत देशका विभिन्न शहरमा मिस नेपालको अडिसन गरेको थियो । देशका अन्य शहरको अडिसनपछि काठमाडौंमा मार्च २१ मा अडिसन हुने आयोजकले जनाएको छ । 
 
अडिसनका सहभागीहरूमध्ये उनीहरूको आत्मविश्वास, सकारात्मक भावना, विभिन्न प्रतीभा, समसामयिकताको बुझाइ, सिक्नका लागि इच्छुक र लगाव हेरेर जम्मा २० देखि २५ जना छनोट गरिने अध्यक्ष कक्षपतीले बताए । छनोट भएकाहरूलाई ६ हप्ताको प्रशिक्षण दिएर फाइनल प्रतिस्पर्धामा लगिने आयोजकले जनाएको छ । 
 
स्पन्दिका राई (प्रशिक्षार्थी पत्रकार)