विराटनगर/ विराटनगर महानगरपालिकामा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा कर्मचारी राख्ने क्रममा वडा नं. १३ का वडाअध्यक्ष झरीलाल महतोले आफ्नै बुहारीलाई नियुक्त गरेपछि विवादमा तानिएका छन् । वडाअध्यक्ष महतोले स्वयम्सेविकासमेत नरहेकी बुहारीलाई नियुक्त गरेपछि विवादमा तानिएका हुन् । 
 
वडाअध्यक्ष महतोले मनोमानी तरिकाले एकलौटी तरिकाले स्वास्थ्य बिमा कार्यक्रमको लागि कर्मचारी नियुक्ति दिएको भन्दै महिला स्वास्थ्य स्वयम्सेविकाहरूले विरोध जनाएका छन् । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका वडानम्बर १३ का लागि स्वास्थ्य बिमाकर्ता नियुक्त गर्ने क्रममा आफू प्राथमिकतामा परेको भए पनि वडाअध्यक्ष महतोले आफ्नै बुहारीलाई नियुक्ति दिएको उनीहरूको भनाइ छ । वडाअध्यक्ष महतोले विद्या घतानीलाई एकलौटी तरिकाले नियुक्त गरेको उनीहरूको आरोप छ । नियुक्ति पाएकी घतानी वडाअध्यक्ष महतोकी बुहारी हुन् ।  
 
विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै स्वयम्सेविकाहरूले वडाअध्यक्ष महतोले आफै अन्तरवार्ता लिएर आफ्नै बुहारीलाई नियुक्ति दिएको बताएका हुन् । पत्रकार सम्मेलनमा स्वयम्सेविका आशा झा र गीता घिमिरेले निर्देशिकामा शैक्षिक योग्यता पुगेका स्वयम्सेविकालाई पहिलो प्राथमिकता भने पनि वडाअध्यक्षले स्वयम्सेविका नरहेकी बुहारीलाई नियुक्ति दिएको आरोप लगाउँदै मनोमानी ढङ्गले गरिएको नियुक्ति खारेज हुनुपर्ने बताए । ‘स्वास्थ्य निर्देशिकामा स्वयम्सेवी भएकोलाई प्राथामिकतामा राखेको छ’ उनले भने, ‘वडाअध्यक्षले आफ्नो ढङ्गले स्वयम्सेविका पनि नभएकी बुहारीलाई नियुक्ति दिएका हुन् ।’ 
 
गत आइतबार भएको अन्तरवार्तामा वडाअध्यक्ष महतो, विराटनगर महानगरपालिकाका स्वास्थ्य अधिकृत एपोलो भगत र वडासचिव शम्भु झा रहेको उनीहरूको भनाइ छ । यता विराटनगर–१३ का वडाअध्यक्ष महतोले क्राइटेरिया पूरा गरेको र अन्तरवार्तामा उत्तीर्ण भएको योग्य व्यक्तिलाई छनौट गरिएको दाबी गरेका छन् । ‘हामीले योग्य व्यक्तिलाई छनौट गरेका छौं’ वडाअध्यक्ष महतोले भने, ‘हामीले जो योग्य देख्यौं, उसैलाई छनौट गरिएको हो । छनौटको क्रममा कोही आफन्त भन्ने हुँदैन । जो उत्तीर्ण हुन्छ, उसैलाई राख्ने हो ।’