पाँचथर/ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता पाँचौं संस्करणको उपाधि क्यामरुनी क्लब दाफिन्स फेमली क्लबले उचालेको छ ।
 
इलामस्थित ठूलो टुँडिखेलमा मङ्गलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले निराश पार्दै दाफिन्सले उपाधि चुमेको हो । दाफिन्सको यो चौथो उपाधि हो । दाफिन्सले यस वर्ष आहा–रारा गोल्डकप उचाल्दै विजयी यात्रा शुरु गरेको थियो । त्यसपछि बुढासुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकप उचालेको थियो । 
 
दाफिन्सका लागि खेलको आठौं मिनेटमा यान्निक ओवानाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै १९ औं मिनेटमा पेटेङ्गाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको पहिलो हाफमा दाफिन्सले २–० को अग्रता बनाउन सफल भयो । दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन नसक्दा दाफिन्सले उपाधि उचाल्यो । खेलको ६५ औं मिनेटमा हिमालयन शेर्पा दश खेलाडीमा सीमित हुन पुगेको थियो । रेफ्रीमाथि दुब्र्यवहार गरेपछि रेफ्रि श्रवण लामाले हिमालयनका बिदेशी खेलाडी ड्याडी वाम्बालाई रातो कार्ड पाएका थिए । खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका विशन गुरुङ बन्दै नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
 
जीतसँगै दाफिन्सले नगद सात लाख रुपैंयाँ प्राप्त गर्यो । उपविजेता बनेको हिमालयन शेर्पाले चार लाख रुपैयाँसहित ट्रफी पाएको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी बन्दै टिभिएसको अपाची मोटरसाइकल प्राप्त गरे । सर्वाधिक गोलकर्ता हिमालयन शेर्पाकै सुनिल खड्का बने । खेल अवधिभर जम्मा चार गोल गरेका उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।
 
उत्कृष्ट गोलरक्षक विजेता दाफिन्सका पिसो जाङगा, उत्कृष्ट डिफेन्डर दाफिन्सकै आको बोटा, उत्कृष्ट मिडफिल्डर हिमालयन शेर्पाका त्रिदेव गुरुङ, उत्कृष्ट फरर्वड दाफिन्सका पेटेङ्गा र उत्कृष्ट प्रशिक्षक दाफिन्सकै कोम वोम्बा घोषित भए । उनीहरूले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमका खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए ।