इटहरी/ पछिल्लो समय जिल्लामा आ–आफ्ना कम्पनीको विज्ञापन गर्ने होडबाजी चलेको छ । कुनै कम्पनीले नयाँ सामान बजारमा भित्र्याउने बित्तिकै होस् वा कुनै नयाँ होटल खुल्ने बित्तिकै ठूला–ठूला पोष्टरमा सडकको दायाँबाँया घरको छत छोप्ने गरी होर्डिङ  बोर्ड झुण्ड्याउने प्रवृत्ति बढेको छ ।
 
व्यवसायिक कारोबारमा प्रतिस्पर्धा गर्न जथाभावी विज्ञापनको होर्डिङ बोर्ड राख्ने गरिएको छ । मदिरा कम्पनीका बोर्ड, शैक्षिक संस्थाका बोर्ड, विभिन्न मोबाइल कम्पनी, सिमेण्ट कम्पनी, वित्तीय संस्था, बैङ्क तथा विभिन्न व्यवसायिक प्रयोजनका होर्डिङहरू कन्सल्टेन्सी, मोटर कम्पनी, हर्वल एवम् मल्टिनेशनल कम्पनीका उत्पादनहरूको प्रचार–प्रसारका निम्ति त्यस्ता बोर्डहरू खुलेआम बिजुलीको खम्बालगायत सार्वजनिक ठाउँमा राखिएका छन् ।
 
सडकका दायाँबायाँ र सर्वसाधारणका घरका छतमा समेत झुण्ड्याइएका बोर्डले बजारको सुन्दरतालाई कुरुप बनाउँदै लगेको छ । विस्तारै बजार क्षेत्रलाई होर्डिङबोर्डले छोप्न लागेको बताउँदै त्यसले मानव जीवनमा प्रतिकूल असररु पर्ने इटहरीका सामाजिक अगुवा विनोद श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘इटहरीको मुख्य बजार आसपासमा बोर्ड राख्ने होडबाजी नै भएको छ । 
 
होर्डिङ बोर्डमा प्रयोग गरिने फल्याक्स बोर्ड माटोमा नगल्ने र जलाउँदा व्यापक मात्रामा कार्बनडाइअक्साइड उत्पादन गर्ने भएका कारण मानव जीवनका लागि अतिजोखिमयुक्त हुने स्वास्थ्यकर्मी बताउँछन् । होर्डिङ बोर्डको बढ्दो प्रयोगका कारण सडकमा हिँड्ने पैदलयात्री र सवारी साधनलाईसमेत असर पुग्ने गरेको इटहरीकै विद्यार्थी नेता केशव न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘होडिङबोर्ड आतङ्क छ इटहरी चोकमा ।’ 
 
राजमार्ग र बजार क्षेत्रमा प्रयोग गरिएका कतिपय होर्डिङ बोर्डको प्रयोगका कारण दुर्घटना समेत हुने गरेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख रवि पौडेलले बताए । पौडेलले भने,  ‘रक्सीको फोटो र महिलाको फोटो राखेर प्रचार गरिएका होर्डिङ बोर्डका कारण दुर्घटना बढेकाले हटाइएको छ, तर बजारक्षेत्र र घर माथि राखिएका सामग्री हामीले हटाउन सकेका छैनौं ।’  राजमार्ग क्षेत्रमा रक्सीको प्रचार गर्न महिलाका अश्लिल फोटोको प्रयोग व्यापकमात्रा गरिएको छ । 
 
सडक डिभिजन कार्यालय मोरङका सूचना अधिकृत दीपककुमार झाले  सुनसरी र मोरङमा कति होर्डिङ बोर्ड छ भन्ने यकिन नभएको बताए ।