होलीले मेरो रङ्गायो नयाँ चोली
फागुन महिनामा खेलौं होली ।
 
रङको पर्व भनिने होलीमा रेडियो, टेलिभिजनबाट सबैभन्दा धेरै बज्ने गीत हो यो । यसपटक पनि ठाउँ–ठाउँमा यो पुरानो गीत बजिरहेको छ । निक्कै वर्षअघि बनेको नेपाली फिल्म ‘अधिकार’ मा राजेश हमाल र कृष्टि मैनाली नाचेको यो गीत आज पनि होलीका बेला उत्तिकै गाइने, बजाइने गरिन्छ । कलाकार नीर शाहको फिल्म ‘वसन्ती’ मा पनि होली गीत समावेश गरिएको थियो । त्योबेला धेरैले मन पराएको होली गीत यस्तो थियो :
 
रातो–रातो पहेँलो, नीलो–नीलो हरियो 
रङ्गीचङ्गी तरङ्गले भरियो मन भरियो ।
 
धेरैवटा पुराना नेपाली फिल्ममा होलीसम्बन्धी गीत समावेश थिए । तिलहरी फिल्ममा उदीतनारायण र दीपा झाले ‘होरिया होरिया हो रङ्ग’ बोलको गीत गाएका थिए । फिल्ममा भुवन केसी र कृष्टि मैनाली नाचेको यो गीत पनि निक्कै चर्चित गीतमा पर्छ । सीता फिल्मको ‘होरी हे आज जनकपुरमा होली रे’ पनि होलीका बेला बज्ने गीतहरूमा पर्छ ।
 
पुराना नेपाली कलाकारले होलीलाई कति महत्व दिन्थे भन्ने कुरा अभिनेत्री करिष्मा मानन्धरको होली मोह हेरे पुग्छ । उनले हरेक वर्ष होलीमा घरमै विभिन्न कलाकार निम्त्याएर भव्य कार्यक्रम गर्ने गरेकी छन् । त्यति मात्र होइन, उनले होलीकै विषयमा ‘फागु’ नामको फिल्म नै बनाएकी छन् । केही वर्षअघि निर्माण भएको फिल्ममा मीना निरौला, मनोज महतो र रञ्जीतकुमार सहनीको स्वर, दयाराम पाण्डेको शब्द र वसन्त सापकोटाको सङ्गीतमा रहेको गीत होली गीत पनि पछिल्लो समय होलीको बेला गुञ्जिने गर्छ । गीतले होलीको यसरी वर्णन गर्छ :
 
‘कतै आज कतै भोलि, 
रङहरूमा रङ घोली
बिर्सिएर तीता मीठा कुरा, 
आऊ न आऊ खेलौं होली ।
 
होलीमा एफएम रेडियो, टेलिभिजनदेखि विभिन्न सङ्घ–संस्थासम्मले विशेष कार्यक्रम आयोजना गर्छन् । ती कार्यक्रमहरूको मुख्य आकर्षण नै गीत र नाच हुन्छ । होली गीतमा रमाउँदै नाच्दै आपसमा रङ लगाएर रमाइलो गरिन्छ । यसरी बजाइने गीतमा कुनैबेला हिन्दीको बाहुल्यता हुन्थ्यो भने अहिले नेपाली होली गीतहरू पनि घन्किन्छन् ।
 
फिल्म ‘गाजलु’ मा सुवानी मोक्तानले गाएको ‘रङ रङ्गा’, फिल्म ‘बटरफ्लाई’ मा राजेशपायल राई र माण्डवी त्रिपाठीले गाएको ‘होली रे’, संरक्षणमा नेहा प्रियादर्शनी र प्रवेश मल्लिकले गाएको ‘होरीमा गोरी’ गीत पनि होलीमा बज्ने गीतहरू हुन् ।
होली रङको मात्र होइन, गीत–सङ्गीतको पर्व पनि हो भन्दा हुन्छ । किनकी गीत बिना होली लगभग अधुरो हुन्छ । त्यसैले त होली खेल्नेहरू गीत–सङ्गीतको तालमा नाच्दै रमाउँछन् ।