भद्रपुर/ धान रोप्ने मेसिन किसानको पहुँचमा पुगेपछि यस वर्ष धान सुपरजोन क्षेत्रमा दुईहजार बिघामा धान खेती गरिंदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको कचनकवल गाउँपालिकामा धान सुपरजोन क्षेत्रमा मेसिनको प्रयोगसँगै चैते धान रोपाइँ गरिँदै आएको हो ।
 
मेसिनको प्रयोग आएसँगै कृषकको आकर्षण पनि बढ्दै गएको छ । सुपरजोन क्षेत्र कार्यान्वयनमा आउनु अघि थोरै खेती हुने क्षेत्रमा अहिले किसानहरू मेसिनको प्रयोगलाई प्राथमिकता दिएर धेरै क्षेत्रमा खेती गर्न थालेका छन् । गत वर्ष सातसय बिघामा रोपिएको धान यो वर्ष तेब्बरले बढेको परियोजनाले जनाएको छ । प्रविधिको प्रयोगले किसान जनशक्तिको अभावलाई पूरा गर्नुका साथै समयको समेत बचत गरेको परियोजनाको दाबी छ । यसको प्रयोगले किसानहरूको आकर्षण बढ्नुका साथै आम्दानीमा वृद्धि हुन थालेको परियोजनाको बुझाइ छ ।
 
धान रोप्ने मेसिनको प्रयोगले सहजता ल्याएपछि यो वर्ष ५ बिघामा खेती गर्दै आइरहेको कृषक खड्ग राजवंशीले बताए । धेरै सुविधा आउन थालेपछि धान खेतीतर्फ आकर्षण बढेको उनले सुनाए । पछिल्लो समय सुपरजोनले कृषकलाई दिएको मेसिन र विभिन्न सहयोग र सुविधाका कारण कृषकहरू धान खेतीमा आकर्षित भएको कचनकवल–२ का कृषक वेदनिधि भट्टराईले  बताए । बिउ उमारेर ड्रमसिडरबाट धान लगाइएको उनले जनाए ।
 
सुपर जोनमा सूचीकृत १ सय १० कृषि समूहका २२ सय घरधुरी खेतीमा लागेका छन् । खेती व्यक्तिगतमात्र नभई समूहगतरूपमा समेत गर्न थालेको नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाकी व्यवस्थापक लक्ष्मी बजगाईंको भनाइ छ । 
 
समूह सहकारीलाई सिंचाइको सुविधा प्रदान गरेपछि धान खेती गर्ने किसानको सङ्ख्या गत वर्षको भन्दा झण्डै तेब्बरले बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका सञ्चालन समिति अध्यक्ष नवराज भट्टराईले जनाए  चैत्र महिनाभर खेती लगाउने गरिएको उनको भनाइ छ । गत वर्ष चैते धानले उचित मूल्य पाएकाले पनि यो वर्ष खेतीमा वृद्धि भएको उनले दाबी गरे ।
 
साना सिंचाइ, सोलार सिंचाइ, प्रतिफलमा आधारित प्रोत्साहन पुरस्कारजस्ता कुराले वार्षिक रूपमा खेती गर्ने क्रम बढेको सुपरजोनका कृषि अधिकृत सागर विष्टले बताए । कृषिमा आत्मनिर्भर हुन राज्यले मेसिनदेखि उत्पादनसम्मलाई अनुदान दिन थालेपछि कृषकको आकर्षण बढेर गएको उनको भनाइ छ ।