दमक/ झापाको शिवसतासी नगरपालिका–८ की निशा अधिकारी (२२) श्रीमान्सँग अलग भएर भएर बस्न थालेको  ५ वर्ष भयो । उनको साथमा ४ वर्षकी छोरीसमेत छिन् । उनको विवाह ०७० सालमा भयो । विवाह भएको तीन महिनापछि नै उनी श्रीमान्सँग अलग हुनुपरेको बताउँछिन् श्रीमान्ले विभिन्न बहानामा कुटपिट गर्न थालेपछि सहन नसकेर अलग हुनुपरेको उनको भनाइ छ ।
 
अधिकारीजस्तै शिवसतासी नगरपालिका–११ निवासी २१ वर्षीया कुमारी भण्डारीको समेत  घरजम हुन सकेन । अन्तरजातीय विवाह गरेका कारण आफ्नो घर चल्न नसकेपछि अहिले  उनी माइती घरमा नै बस्दै आएकी छन् । यस्तै जिल्लाको कमल गाउँपालिका–५ निवासी कल्पना लामिछाने (२७) समेत पाँच वर्षदेखि विवाह भएको घर छाडेर माइतीघरमा नै बस्दै छिन् । श्रीमान् ध्रुव गौतमले दोस्रो विवाह गरेपछि उनी माइतीकै सहारामा बस्दै आएको बताउँछिन् ।
 
पीडा भुलाउन सीप
उनीहरू सबैजना झापाको शिवसतासी नगरपालिका–११ स्थित गोपाल–गौरी दिगो विकास प्रतिष्ठानमा ढाका कपडा बुन्ने तथा सिलाइ–कटाइसम्बन्धी तालिम लिइररहेका छन्  । यही सिलाइ–कटाइ गरेर भए पनि आफ्नो बाँकी जीवन सहज रूपमा चलाउन सीप सिक्न आएको उनीहरूको भनाइ छ  । यी पीडित महिलाले ढाका कपडा बनेर र सिलाइ–कटाइ तालिम लिएर आत्मनिर्भर बन्ने लक्ष्य लिएका छन् । यही पेशाबाट पैसा कमाएर घर चलाउने, छोराछोरी पाल्ने र पढाउने योजना लिएको बताउँछन् ।
 
वैवाहिक जीवनपछि नयाँ भविष्य सम्झेर कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएका धेरै महिलाहरू सहारा खोज्दै माइत र आफन्त कहाँ आश्रयमा बस्नु पर्ने बाध्यता भोगिरहेका छन् ।  विवाह गर्ने उमेर हुँदै गर्दा घर बिग्रिएपछि अलपत्र परेका महिला, एकल महिला, गरिब तथा साहाराविहीन महिलालाई मात्र संरक्षण गर्ने उद्देश्यले गठन गरिएको प्रतिष्ठानमा १ सय ५० जनाभन्दा बढी महिलाहरूले ढाका कपडा बुनाइ र सिलाइ–कटाइसम्बन्धी तालिम लिइसककेका छन् । 
 
दुःख बिर्साउन सीप विकास केन्द्र स्थापना
श्रीमान्को देहान्तपछि वा श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि एकल महिलाहरूको जिन्दगीमा एक प्रकारका बज्रपात थपिने गरेको छ । जसका कारण सामान्य परिवारका एकल महिलाहरूलाई दैनिक जीविकोपार्जन गर्नै हम्मेहम्मे पर्ने गरेको छ । यस्तै महिलालाई समेटेर प्रतिष्ठानले जिल्लाभरिका एकल तथा दुःख पाएका महिलालाई भेला गरी आत्मनिर्भरताको तालिमसँगै रोजगार दिन थालेको छ ।
 
तालिममा सहभागी अधिकांश महिला एकल छन् । कोही श्रीमान्को मृत्यु भएपछि एकल बनेका छन् त कोही श्रीमान्सँग सम्बन्धविच्छेद गरेर । श्रीमान् भएकाहरू समेत गरिब पारिवारका महिलालाई तालिम दिएको प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम बताउँछिन् । ‘आफूसमेत एकल महिला भएकाले यस्ता महिलाले कति पीडा भोग्नु पर्छ भन्ने बुझेर नै मैले यो संस्थामार्फत् महिलाका लागि सीप सिकाउन थालेको हुँ’ –गौतम भन्छिन् । 
 
झापा र हाल इलामको रोङ गाउँपालिकामा गरि हालसम्म  १ सय ३० जना दुःख पाएका महिलाहरूलाई निःशुल्क सीपमूलक तालिम दिएर स्वरोजगार बनाइएको छ । तालिममा सहभागी एकल तथा पारिवारबाट तिरस्कृत, बाढीपीडित अपाङ्गता भएकालगायत अन्य विभिन्न कारणले दुःख पाएका महिलाहरूले तालिमसँगै रोजगारीसमेत पाउन थालेपछि उनीहरूको जीवनमा सुधार आएको प्रतिष्ठान सञ्चालक गौतम बताउँछिन् ।