धरान । होली खेल्ने क्रममा धरान–९ बगैचालाइनमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर निधन भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । झडपमा अर्का एक जना घाइते बनेका छन् । घाइते हुनेमा धरान–८ कै १७ वर्षीय मिलन बिक रहेको प्रहरीले जनाएको छ । उनको छातीमा सामान्य चोट लागेको छ । मृतक तामाङको भने छातीको दाँहिने भागमा छुरी प्रहार भएको थियो ।

घटना साढे ३ बजेतिर भएको हो । घटनामा चार जनाको समूहले प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरू फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले कानून विपरीत कार्य गरेको आरोपमा २१ जना प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट कट्टी, खुकुरी, बञ्चरोलगायतका हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

धरान–७ शान्तिपथमा पनि युवा समूहबीच झडप भएको थियो । त्यहाँ पनि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको थियो ।