धरान । होलीलाई सद्भावको प्रतीक मानिन्छ । विगतमा भएका रिसिइवीहरू पनि मिलनमा बद्लिन्छन् भन्ने मान्यता छ ।

तर, धरान–९ बगैचालाइनमा बिहीबार पुरानो रिसिइवीनै धरान–८ का युवाको लागि मृत्युको कारण बन्यो । विगतमा भएको रिसिइवी साँध्नका लागि एक समूहले उनीमाथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते बनाए । जसको कारण उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार करिब साढे ३ बजे युवाहरूले धारिलो हतियार चक्कु प्रहार गरेका थिए । उनीको दाँहिने छातीमा चोट लागेको थियो । त्यही चोटका कारण प्रतिष्ठानको आकस्मिक कक्षमा नपुग्दै उनको मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको थियो । उनीसहित १७ वर्षीय मिलन बिकको पनि छातीमा सामान्य चोट लागेको छ । उनी हाल डिस्चार्जसमेत भइसकेका छन् ।

आक्रमण गर्ने चारमध्ये प्रहरीले २ जनालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ भने अन्य दुई फरार छन् । उनीहरूको व्यापक खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनीहरूलाई परिवारले नै भगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

मृतक तामाङसँग छुरा प्रहार गर्ने समूहको गत माघमा झगडा भएको थियो । त्यसबेला तामाङले छुरा प्रहार गर्नेमध्येका एक युवालाई छुरा प्रहार गरी सामान्य घाइते बनाएको अनुसन्धानको क्रममा पत्ता लागेको डिएसपी तिम्सिनाले जानकारी दिए । सोही कारण नै बदलाको भावनाले मारेको देखिने उनले बताए ।

https://youtu.be/qX9GGbS-KNM