धरान । जापानले नेपाली कामदार लैजानका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ ।
नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालबीच समझदारी–पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको हो । मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वीकृति प्रदान गरिसकेको छ । समझदारीमा नेपालबाट जापान कामदार लैजाने र जापानले उनीहरूलाई ‘स्पेसिफाइड भिसा’ दिने विषय उल्लेख हुने श्रम मन्त्रालयका बैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले जानकारी दिए । ढकालका अनुसार जापानले चैत १८ देखि नै कामदार लैजाने गरी समझदारीमा हस्ताक्षरको प्रस्ताव यसअघिका वार्तामा गरेको थियो । जापानले गत पुसमा नेपालसहित ९ देशबाट १४ प्रकारका कामका लागि कामदार भित्र्याउने निर्णय गरेको थियो । आउँदो वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी गरेको छ । उपसचिव ढकालका अनुसार जापान कामदार पठाउन बैदेशिक रोजगार विभाग अन्तर्गत युनिट स्थापना हुनेछ । भाषा परीक्षा भने जापानले नै लिनेछ । जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स लाने लक्ष्य राखेको छ । त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार लाने भएको छ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको छ ।