कुरा २०६० सालतिरको हो । त्यतिबेला मेरो एम.ए. दोस्रो वर्ष पनि सकिएर थेसिस वर्ष शुरू भएको थियो । एम.ए. पढ्नका लागि झापाको एक जना साथी र म कीर्तिपुरको नयाँ बजारमा डेरा लिएर बसेका थियौँ । हाम्रो पढाइ धुमधामसँग चलिरहेको थियो । त्यति टाढादेखि कुम्लोकुटुरो बोकेर पढ्न भनी आएपछि पढाइ गहन नहुने त कुरै भएन । त्यसमा पनि आफै जानकार भएपछि । हामीले टुप्पी कसेर, घुँडा धसेर पढाइ अगाडि बढाएका थियौँ । त्यसबेला देशमा राजनीतिक तनाव भए पनि विश्वविद्यालयको पढाइलाई बाधा पु¥याउने खालका त्यस्ता कुनै ठूला अवरोधहरू भने खासै भएका थिएनन् । देशमा माओवादी आन्दोलन चर्किइरहेको थियो । दिनहुँजसो कहीँ न कहीँ कुनै न कुनै प्रकारका साना–ठूला घटनाहरू त घटी नै रहन्थे ।
 
हामी दुवैको ध्यान पढाइमा केन्द्रित थियो । सामान्य रूपमा राजनीतिमा चासो राख्ने भए तापनि हामीले आफूलाई राजनीति भन्दा टाढै राखेका थियौँ । कुनै न कुनै विद्यार्थी सङ्गठनमा आस्था राख्ने भए तापनि हामी दुवै कुनै पदमा थिएनौँ । माओवादीभन्दा पृथक पार्टीमा भए पनि अन्य पार्टीले आशा गरिएभन्दा विपरीत खाले परिणाम दिएकोले कुरै कुरामा हाम्रो आशातित सहानुभूति चाहिँ माओवादीप्रति थियो ।
 
भूमिगत भएकोले भन्दा पनि अन्य पार्टीले जनचाहनाअनुरूप काम नगरेकोले यसले चाहिँ केही गर्छ कि भने जस्तो लाग्थ्यो । हामी एम.ए.सकेर शिक्षण पेशामा लाग्ने सोचमा थियौँ । हामीलाई राजनीति गर्नु थिएन । यद्यपि म चाहिँ अलि बढी भूमिगत पार्टी माओवादीका बारेमा जान्न उत्सुक हुन्थेँ । खासगरी नेताहरूका बारेमा । त्यसैले म विभिन्न पत्र–पत्रिकाहरू बेला–बेलामा ल्याएर पढ्ने गर्थें । त्यसमा केही थिएन । खाली नेताहरूले बोलेका कुरा र उनीहरूका विभिन्न खाले गतिविधि आदिका बारेमा जान्ने, बुझ्ने चाहना हुन्थ्यो । म उनीहरूका बारेमा लेखिएका लेख, रचनाहरू भएका पत्र–पत्रिकाहरू किनेर ल्याउने र पढ्ने गर्थें । त्यसैले कहिले त हाम्रो कोठामा जनादेश, साप्ताहिक लगायतका विभिन्नखाले पत्र–पत्रिकाहरू यत्रतत्र छरिएका हुन्थे ।
 
एक रात करिब बार–एक बजेको हुँदो हो । हामी पढेर सुति सकेका थियौँ । एक्कासि निन्द्रामै ढोका ढक्ढकाएको आवाज आयो । म राम्रोसँग ब्यूँझेर उठ्दा साथीले ढोका खोलिसकेको रहेछ आर्मीहरूले कोठा भरिइसकेको  थियो । त्यसपछि उनीहरूले कोठा खानतलासी गर्न थाले । खाटमुनि, कोठाको कुनाकानी सबैतिर हेरे । हामी दुवैलाई के गर्नुहुन्छ ? भनेर सोधे । हामीले पढ्छौँ, हामी पढ्ने विद्यार्थी हौँ भन्यौँ । एउटाले यता मपट्टि फुत्त उफ्रेर आउने हुँदा मेरा खाली खुट्टामा बुटले कुल्चिन पुग्यो । गह्रौं बुटले कुल्चिँदा कम्ति दुखेन । मुटु नै पिरोजस्तो भयो । यद्यपि मैले नदुखे जस्तो गरी आफ्नो खुट्टा तानेँ । उसले ‘सरी’ पनि भनेन । थाहै नपाएजस्तो ग¥यो । त्यसपछि तिनीहरू ठीकै छ पढ्ने विद्यार्थी हुनुहुँदो रहेछ राम्रोसँग पढ्नु होला भनेर बाहिर निस्के ।
 
हामीले ढोका लगायौँ । त्यतिखेर पो सम्झिइयो । हामीसँग प्रचण्ड, बाबुराम, सिपी गजुरेलआदिका फोटा भएका थुप्रै पत्र–पत्रिकाहरू थिए । मैले साथीलाई  सोधेँ, ‘हामीसँग भएका ती पत्रिकाहरू खोइ मित्र ?’ भनेर । उसले मेरो बेडतिर देखाउँदै ‘त्यहीँ गन्द्रीमुनि राखिदिएको छु’ भन्यो । मैले गुन्द्री पल्टाएर हेर्दा सबै भेला पारेर त्यहीँ मेरो बिछ्यौनामुनि राखि दिएको रहेछ । मैले किन यहाँभित्र हालेको भनेर सोधेँ । उसले तपाईंले ल्याउनुभएको हो अनि तपाईंकै ओछ्यानमुनि राखि दिएको भन्यो । मैले केही पनि भनिनँ । धन्न बचियो भनेर मुटु ढुक्ढुक भयो । एउटाले त पत्रिकाहरू छैनन् ? भनेर सोधेको, खोजेको पनि थियो । धन्न भेटेन । भेटेको भए मैले बिना बित्थामा माओवादी भनेर कति पिटाइ खानु पथ्र्यो । त्यहाँदेखि हामीले त्यसरी पत्रिका कहिल्यै कोठामा ल्याएनौँ । उनीहरू गएपछि पो मलाई निकै दिन डर लागिरह्यो । त्यो रातभरि निन्द्रै लागेन । आजभोलि पनि म त्यो घटना सम्झन्छु, मुटु ढक्क फुलेर आउँछ । त्यतिबेला आर्मीले ती पत्र–पत्रिकाहरू भेट्टाएको भए अरू के गरी बिराउनु पथ्र्यो र ! बिना बित्थामा माओवादी भनेर सजाय भोग्नुपथ्र्यो ।