उदयपुर/ लिम्चुङ्बुङको सबैभन्दा अग्लो स्थान दोबाटेमा प्रथम लिम्चुङ्बुङ महोत्सव नयाँ वर्षसँगै लाग्ने भएको छ । एभरेष्ट भ्युटप पर्यटन विकास समितिको आयोजनामा हुन लागेको महोत्सव वैशाख १ गतेबाट लाग्ने भएको हो ।

‘एभरेष्ट भ्युटप भैचुङ, पर्यटनको केन्द्र लिम्चुङबुङ’ भन्ने नाराका साथ नयाँ वर्षसँगै ५ दिने महोत्सव लाउने तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा विशेष आकर्षणका रूपमा विभिन्न जातजाीतको मौलिक सांस्कृतिक प्रदर्शनी, लोकीप्रय तथा चर्चित कलाकारहरूको प्रस्तुति, खेलकुद र साहित्य हुने आयोजकले जनाएको छ ।

२०७६ सालको नयाँ वर्षसँगै महोत्वसको उद्घाटन गर्न हेलिकोप्टरबाट सप्तकोशीको पानी उठाई हेलेसी धाममा चढाएर पुष्पवृष्टि गर्ने योजना रहेको छ । स्थानीयवासीहरूले पनि टिकट काटेर हेलिकोप्टर चढी हलेसीको दर्शन तथा सगरमाथाको अवलोकन गर्ने प्रबन्ध मिलाउने तयारी भइरहेकोे बताइएको छ ।

महोत्सव स्थलबाट खुल्ला आँखाले नै सगरमाथा, कञ्चन्जङ्घा, चोयु, कुम्भकर्ण, लोहोत्सेलगायतका आठ ओटा उच्च तथा चर्चित हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिने लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए । जिल्लाकै एक रमणीय स्थल एभरेष्ट भ्युटप लिम्चुङ्बुङको मुख्य पर्यटकीय स्थल हो । सिङ्गो पालिका नै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसको प्रचार–प्रसार महोत्सवका साथ हेरिएको अध्यक्ष राईले बताए ।

उदयपुरको लिम्चुङ्बुङ र पारिपट्टिका तुवाचुङ सिधै पारीपट्टि प्रख्यात धार्मिक स्थल हलेसी धाम भएकाले पालिकाको पर्यटकीय महत्व बढेको हो । पर्यटन विकासका लागि सडक, बिजुली, सञ्चार जस्ता पूर्वाधारको विकासमा जोड दिइएको अध्यक्ष राईले बताए ।

सांस्कृतिक तथा खेलकुद पक्षलाई जोड दिइने महोत्सवले लिम्चुङ्बुङको पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउने आशा लिएको आयोजक एभरेष्ट भ्युटप विकास समितिका अध्यक्ष ज्ञानबहादुर राईले बताए । रमणीय तर दुर्गम ठाउँमा पहिलो पटक हुन लागेको सांस्कृतिक पर्यटन महोत्सवमा करिब ५० हजारले अवलोकन गर्न सक्ने अनुमान गरिएको आयोजक अध्यक्ष राईले बताए ।

सांस्कृतिकतर्फ राईको साकेला शिली, मगरको हुर्रा, सोरठी, तामाङको सेलोलगायतका विभिन्न जातजातिका जातीय झाँकी प्रतियोगिता र भलिबल, जम्पलगायत खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिनेछ । विभिन्न जातजातिको मौलिक खानाका परिकारको साथ राष्ट्रिय र स्थानीय कलाकारहरूको गायन, नृत्य, हाँस्यव्यङ्ग्यजस्ता सांस्कृतिक तथा साहित्यिक कार्यक्रमसमेत सञ्चालन हुने आयोजक अध्यक्ष राईले बताए ।

महोत्सव हेर्न जान आउनका लागि सहज बनाउनका लागि सडक मर्मत सुधार तथा स्तरोन्नतिको काम तत्काल गर्ने आयोजक अध्यक्ष राईले बताए । गाउँघरबाट महोत्सव हेर्न आउनेका लागि सवारी साधन थप गर्ने आयोजक अध्यक्ष राईले बताए । महोत्सवको प्रचारप्रसार तथा पालिकाको पहिचान झल्काउने भेस्ट, झोला, खादा र गहनाजन्य सामग्री पनि तयार पारिएको छ ।