धरान । टर्कीको साउदीस्थित कन्सुलर कार्यालयमा हत्या गरिएका साउदीका पत्रकार जमाल खसोग्गीको परिवारलाई साउदी अरबले अर्बौ रकम बराबरको घर तथा अन्य सुविधा प्रदान गरेको छ ।

साउदी सरकारको आलोचक पत्रकारका रूपमा रहेका खसोग्गीको हत्यामा साउदीको राजपरिवारको संलग्नता रहेको दाबी गरिँदै आएको छ । यही क्रममा उनका सन्तानलाई अर्बौ रुपैयाँ पर्ने घर, रकम क्षतिपूर्तिबापत् दिएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

क्षतिपूर्तिबापत् खसोग्गीको चार जना सन्तानलाई अर्बौ पर्ने घर र प्रत्येक महिना विभिन्न पाँचवटा शीर्षकमा रकम प्रदान गर्ने उल्लेख गरेको अलजजीराले लेखेको छ । सरकारी एजेन्टले खसोग्गीको हत्या गरेको हत्यापछि गरिएको अनुसन्धानको प्रतिवेदनले उल्लेख गरेको छ । जसबाट परिवारलाई गम्भीर क्षति पुगेको थियो । खसोग्गीको हत्याको केही महिनासम्म साउदी सरकारले जिम्मासमेत लिएको थिएन । तर, मिडियाहरूमा बारम्बार समाचार प्रकाशित भएपछि बाध्य भएर हत्या भएको दाबी गरेको थियो । खसोग्गीको विभत्स तवरले हत्या गरिएको थियो ।

ब्लड मनीका रूपमा दशौं लाख रकम प्रदान गरिएको दाबी अलजजीराले गरेको छ । खसोग्गीको सन् २०१८ अक्टोवर २ मा हत्या गरिएको थियो । तर, उनको शव हालसम्म फेला पर्न सकेको छैन ।