‘विनय’ आज एउटा कुनाबाट नियालिरहेको छ । हिजो जुन संरचना निर्माणको क्रममा त्यही संरचना नै ध्वस्त बनाउन लागिपरेका थिए, संरचनालाई स्थापित गर्न भएका आन्दोलनहरूलाई निष्तेज गर्न खुल्ला रूपमा नाङ्गै उत्रिएका थिए, विभिन्न बहानामा सामेल नहुने कार्यमा आफूलाई लगाउने गर्थे, अप्ठ्यारो परिस्थितिमा जनसमक्ष नदेखिन आफूलाई छिपाउँथे, आज अधिकांश तिनै व्यक्तिहरू सबै संरचना आफैले निर्माण गरेको, आन्दोलन सबै आफैले नेतृत्व गरेको, अप्ठ्यारा परिस्थिति सबै आफूले मात्र झेलेको, मबाहेक अरुबाट कहाँ सम्भव हुन्थ्यो र ? त्यसैले त्यसको उपलब्धि मैले नै प्राप्त गरेको हुँ भन्ने गरेको र प्राप्त हुने नेतृत्व, सेवा सुविधाहरू जनभावना विपरीत निर्धक्क उपभोग गरिरहेका छन् । राज्यका सबै स्रोत साधनहरूलाई व्यक्तिगत सम्पत्ति झैं ठानी उपभोग र लगानी गरिरहेका छन् । यसले के परिणाम दिने हो ? विनय अन्योल भावले हेरिरहेको छ । विहङ्गम दृष्टि लगाइरहेको छ ।

उसले पछाडि फर्केर हे¥यो । ऊ एउटा गरिब किसान परिवारमा जन्मिएको थियो । बाल्यकालदेखि नै उसले अभावहरू झेल्दै आयो । जान्ने बुझ्ने भैसकेपछि किन कोही हर–हमेसा श्रम गरेर पनि अभावै अभाव झेलिरहन्छन् र किन कोही ‘उप्री माथि थुप्री’ गर्दै श्रम नै नगरी मोजमस्तीमा डुब्छन् भन्ने कुराले उसको दिमागमा घर ग¥यो । उसले बुझ्दै गयो, मुलुकमा रहेको शासन व्यवस्थाले नै यस्तो विभेद गरेको छ । ऊ यो व्यवस्थासँग सहमत हुन सकेन । उसलाई लाग्यो यसको अन्त्य गरिनु पर्दछ । उसले त्यस्तो समूहको खोजी गर्दै आफ्नो व्यवहार पनि त्यही अनुरूप गर्न लाग्यो ।

पढ्ने क्रममा पार्टीहरूको बारेमा उसले थाहा पायो कि जनताको पक्षमा काम गर्ने पार्टीहरू पनि हुँदा रहेछन् । उसले पनि गाउँमा फर्किएपछि शिक्षण सँगसँगै जनताको चेतना जगाउने काम गर्दै रह्यो । २०३६ को जनमत सङ्ग्रहमा ऊ राज्यव्यवस्थाको विपक्षमा उभियो । उसका गतिविधिबारे पार्टीले थाहा पायो । तत्कालीन नेकपा (माले) उसैलाई खोज्दै खोज्दै गाउँमा नै आइपुग्यो र पार्टीमा संलग्न गरायो ।

पार्टीले उसलाई भूमिगत शैलीले काम गर्न सिकायो । पार्टीको नीति, सिद्धान्त र कार्यक्रम पढायो । अनुशासन सिकायो । बलिदानी भावना बढायो । कमी, कमजोरीमा आत्मालोचनाको पाठ पढायो । जनताको पक्षमा अडिग भएर काम गर्न अह्रायो । विनयले अत्यन्तै इमानदार भएर पार्टीले जिम्मा दिएका कामहरू गर्दै गयो । भूमिगत शैलीले नेतृत्वहरूलाई सुरक्षित बासस्थान दियो । पार्टीलाई सकेको नियमित आर्थिक सहयोग पनि गर्दै रह्यो ।

उसमाथि चियो चर्चो गर्ने व्यक्ति पनि प्रशासनले गोप्यरूपले नियुक्ति ग¥यो । प्रशासनमा उसका निरन्तर पोल पुगिरहन्थे । विनय प्रशासनको २४ घण्टे पुर्जीहरूलाई निडरतापूर्वक सामना गरिरहन्थ्यो । प्रशासनबाट उसलाई दोषी ठह¥याउन र कारबाही गर्न बारम्बार प्रयत्न भए पनि प्रमाणित गर्न सक्दैनथ्यो । पूर्ण भूमिगत शैलीमा विनयले इमानदारितापूर्वक काम गरी नै रह्यो । काम गर्ने कुरामा जस्तासुकै अप्ठ्याराहरू आइपरे पनि ऊ कहिल्यै विचलित भएन । कहिल्यै पछि पनि हटेन । अझ उत्साहका साथ अगाडि बढी नै रह्यो ।

इमान्दारीपूर्वकका कामका कारण ऊ पार्टीको जिल्लाको नेतृत्व तहमा पुग्यो । क्रियाशीलताको एक दशक बितेपछि २०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यको लागि भूमिगत शैलीबाटै विभिन्न कार्यक्रमहरू पार्टीबाट अगाडि सारियो । विनयले त्यस आन्दोलनको पूर्णताको लागि आफ्नो जिल्लामा जिउ–ज्यानले भ्याएसम्म नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । कार्यक्रमहरू प्रभाविलो ढङ्गले देशव्यापी सम्पन्न भए । देशमा जनआन्दोलन सफलतामा पुग्यो । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा ‘बहुदलीय व्यवस्था’ स्थापित भयो । दलहरू बीचमा प्रतिस्पर्धामा उत्रिएर जनतामा श्रेष्ठता स्थापित हुनुपर्ने स्थिति आयो ।

नेकपा (माले) नेकपासँग एकीकृत भई नेकपा (एमाले) भयो । जनताको बीचमा आम निर्वाचन भयो । नेकपा (एमाले) लाई जिल्लामा जिल्लाबासीले पहिलो दर्जामा स्थापित गरे । यसबीचमा विनयले पार्टीले दिएको आफ्नो नेतृत्वदायी जिम्मेवारी विश्वस्त र सक्रियतापूर्वक सम्पादन गर्दै रह्यो । पार्टी खुल्ला भएपछि भूमिगत शैली सकिएको थियो । तर, त्यसको अनुशासनको प्रभाव बाँकी नै थियो । यसै बीचमा विनयले गाउँमा माध्यमिक विद्यालय स्थापना गर्न पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हालिरहेको थियो ।

पार्टीले विनयको कार्यशैली देखेर पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुपर्ने निर्णय ग¥यो । उसले जागिर छाड्नु पर्ने भयो । पार्टीको निर्देशनका कारण उसले पेन्सनको मुखमा पुगेको जागिर पार्टीको निमित्त त्याग गर्नुपर्ने भयो । पारिवारिक जिम्मेवारी, लालाबालाहरूको पालन–पोषणसमेत श्रीमतीको एकल काँधमा छोडेर उसले जिल्ला सदरमुकाममा नै बस्नुपर्ने भयो । जागिरबाट हुने आम्दानी पार्टीको निम्ति त्याग्नुपर्ने भयो । उसले पार्टीको निर्णय इमान्दारितापूर्वक शिरोपर गर्यो ।

जागिर पाउनका लागि अरुहरूले मारामार गरिरहेको अवस्थामा उसले पार्टीको लागि जागिर त्याग ग¥यो । बालबच्चाको भविष्य र पारिवारिक आर्थिक समस्याहरू पनि पार्टीको लागि भनेर उसले बिर्सिदियो । ‘यो विनयले करेसाको जागिर छोडेर के गरिरहेको, बहुलाएको त होइन ! यतिका लालाबालाहरू छन्’ भन्ने भनाइ, टीका टिप्पणी समाजबाट आइरहेको भए पनि उसले पार्टीको निम्ति भनेर पचायो । पार्टीले दिएका जिम्मेवारीहरू अभावका बावजुद पनि इमान्दारितापूर्वक पूरा गर्दै अगाडि बढिरह्यो । आफ्नो योग्यता र क्षमताले भ्याएसम्म जनताको पक्षमा निरन्तर काम गरिरह्यो ।

पार्टी माले र एमाले भएर दुई वटामा पुनः विभाजित हुँदासमेत विनय मूलधार एमालेमै रह्यो । पार्टीलाई जोगाउन मुस्किल परेका बखत ऊ सत्तीशाल झंै अडिग रहिरह्यो । विद्रोही नेकपा माओवादीबाट देशमा जनयुक्त शुरु भयो । त्यसबेला पार्टी पंक्ति निकै विचलित र निष्क्रिय भयो । यो अवधिमा पार्टीका कतिपय नेतृत्वदायी व्यक्तिहरू दुलो नपसेका होइनन् । तर विनयले विचलित नभई आफ्नो पार्टीका गतिविधिहरूमा आफूलाई सक्रियतापूर्वक सामेल गरिरह्यो । यसपछि २०६३÷०६३ को जनआन्दोलन भयो । यो जनआन्दोलनमा विनय जिल्लामा सधँैँ अग्रपंक्तिमा क्रियाशील भई नै रह्यो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । त्यसपछिका दिनहरूमा पनि विनय पार्टीमा सधैँ क्रियाशील भई नै रहेको छ । उसले पार्टीमा लगातार ४० वर्ष खर्चियो । ऊर्जाशील समय सबै पार्टीमै बितायो । कुनै बहानामा पार्टी काममा अनुपस्थित रहेन । पार्टी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको छ । विनय हाल पनि क्रियाशील छ । ऊ थाकेको छैन ।

उसले पनि चाहेको भए अरुले झैं सम्पत्ति कमाउन सक्थ्यो होला । तर उसले पार्टीको आडमा कुनै व्यवसाय गरेन । ठेक्का–पट्टा पनि गरेन र सम्पत्ति कमाएन । पार्टी नै सबथोक ठान्यो । पार्टीको लागि त्याग, निष्ठा र बलिदान नै प्रमुख ठान्यो । तर अहिले निष्ठा होइन, पैसा नभएकै कारण ऊ पार्टी पंक्तिमा कमजोर देखिएको छ । पार्टीभित्रको प्रतिस्पर्धामा ऊ अयोग्य भएको छ । उसले हल्ला सुन्यो, ‘निर्वाचनमा टिकट प्राप्त गर्न पैसाको चलखेल हुन्छ । पैसा खर्चिनु पर्छ । टिकट पाएपछि पनि पैसाको नै लगानी गर्नुपर्छ । नेतृत्व पनि पैसा भएकैलाई मात्र अवसर दिन्छन् ।’

मूल्याङ्कनको कसी पनि पैसा नै भएको अनुभूत भइरहेको छ । पैसा भए सबथोक हुने देखिएको छ । नेतृत्वको झोला बोकेर गणेश प्रवृत्तिमा नेतृत्वको वरिपरि जो घुम्छ । नेतालाई रेडलेवल, ब्ल्याकलेवल र ब्लुलेवलजस्ता वर्तमानका अमृत जसले पिलाउँछ, पैसाका पोकाले जसले पूजा गर्छ ऊ नै पार्टीमा व्यापक त्यागी र बलिदानी मानिएर हरेक अवसर पाइरहेको हुन्छ । अवसर पाएपछिका दिनहरूमा पार्टीको मर्म र सिद्धान्त विपरीत पार्टीलाई नसुहाउने, जनताले नपचाउने तडक–भडक गर्छ, निरङ्कुशताको पराकाष्ठा देखाउँछ, ऊ नै पार्टीमा सर्वश्रेष्ठ मानिएको देखिन्छ । पार्टी अनुशासन कहाँ पुग्यो कुनै अत्तोपत्तो देखिँदैन ।

विनयले आजसम्म बुझेको पार्टी राजनीति यसरी बुझेको थिएन । उसलाई पार्टीमा निष्ठा र त्याग चाहिन्छ भन्ने लाग्दथ्यो । तर त्यसो हुँदो रहेनछ । ऊ बिलखबन्द परेर रहिरहेको छ । उसका त्याग, निष्ठा र बलिदानले कुनै काम गरिरहेको छैन । ती सबै कुराहरू आज कुनै मूल्याङ्कनको विषय पनि बनिरहेका छैनन् । त्यसैले ऊ आज छेउ लागेको छ । उसलाई कुनामा पु¥याइएको छ । पार्टी नेतृत्व कतातिर दौडिरहेको छ ? ऊ आज एउटा कुनाबाट अन्योलको भावले एकोहोरो हेरिरहेको छ ।