उदयपुर/ उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीमा बर्सेनी लाग्ने नयाँ वर्ष मेलाको तयारी थालिएको छ ।

रौतामाई गाउँपालिका–६ को रौता पाखरीमा नयाँ वर्षमा लाग्ने मेलाको व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नयाँ वर्षमा रौतामाईको दर्शन तथा मेला भर्न आउने भक्तजनलाई विशेष ध्यानमा राख्दै बजार व्यवस्थापन र सुरक्षाको तयारी गरिएको आयोजकले जनाएको छ ।

रमणीय धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीमा बर्सेनी नयाँ वर्षमा नेपाल तथा भारतका विभिन्न भागबाट पूजा तथा घुमफिरका लागि पर्यटकहरू आउने गर्छन् । रौता पुग्न सदरमुकाम गाईघाटदेखि करिब ४४ किलोमिटर उत्तर पहाड चढ्नु पर्दछ । मेलामा मदिरा सेवन गरी झैझगडा गर्ने भएकाले मेलामा मदिरा भेटिएमा ५ हजार ५१ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको रौता धार्मिक संस्थाले जनाएको छ ।

पोखरी नजिकैको खाली चौरमा मेला लाग्ने गर्दछ । मेला लाग्ने स्थलमा अव्यवस्थित सिसाको टुक्रा सङ्कलन गर्ने काम भइरहेको रौता बजार मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा किरात राई जातिको साकेला झाँकी प्रस्तुति तथा भलिबल प्रतियोगिता हुने रौता बजार मेला व्यवस्थापन समितिका सदस्य सुचन राना मगरले बताए । खानेपानीको समस्या समाधान गर्नका लागि गाउँपालिकाले खानेपानीको व्यवस्था गरिदिएपछि भक्तजनहरूको बाक्लो उपस्थिति रहने आशा लिएको मगरले बताए ।

दर्शन गर्न शुल्क
रौतामाईको दर्शन गर्न मन्दिर प्रवेश शुल्क रु. ५० तोकिएको छ । मेलामा सवारी साधनको प्रकारअनुसार ५० देखि २ सय रुपैयाँसम्म पार्किङ शुल्क लिने समितिले निर्णय गरेको छ भने मेलाका स्टल, होटल र पसललाई अवस्था हेरेर ८ सयसम्म शुल्क लिने निर्णय गरिएको समितिका सदस्य मगरले बताए ।

वैशाख १ गते लाग्ने मेला २–३ गतेसम्म पनि लाग्ने गर्दछ । भक्तजनहरूको अवस्था हेरेर मेला लाग्ने गरेको समितिको सदस्य रानामगरले बताए । रौता पोखरीको दर्शन गर्न जिल्लाका विभिन्न भू–भाग र छिमेकी जिल्ला खोटाङ, सुनसरी, सप्तरी, सिरहा, मोरङ, झापालगायतका जिल्ला र भारतको विहार प्रदेशका भक्तजनहरू दर्शन गर्न आउने समितिका सदस्य रानामगरले बताए ।

मेलास्थलबाट उत्तरमा सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण, ल्होत्से, महालङ्गुर हिमशृङ्खला लगायतका सर्वोत्कृष्ट तथा चर्चित हिमालहरू खाली आँखाले सहज रूपमा अवलोकन गर्न सकिन्छ भने दक्षिणमा तराईका फाँटहरूको अवलोकन गर्न सकिन्छ ।