वराहक्षेत्र जाँदै हुनुहुन्छ भने तपाईंका आँखा र मनलाई प्रकृतिका रमणीय सौन्दर्यले भरिएका फरक स्थलहरूले स्वागत गर्नेछन् । अहिले वराहक्षेत्रमा धार्मिक तथा प्राकृतिक पर्यटनले गति लिन थालेको छ । आन्तरिक र वाह्य पर्यटकले छानी–छानी पर्यटनस्थलको मज्जा लिन सक्नेछन् ।

जुनसुकै दिशाबाट वराहक्षेत्र प्रवेश गर्नुहोस्, प्रकृतिको मनोरम दृश्यको अवलोकन गर्दै बाटोमा कुनै न कुनै धार्मिकस्थल भेट्नु हुनेछ । यदि तपाई पूर्वको धरानवाट वराहक्षेत्र नगरपालिका प्रवेश गर्नुभयो भने शुरुमा तपाईलाई १ नम्बर वडामा रहेको औलिया बाबा मठले स्वागत गर्नेछ । दक्षिणतर्फबाट आउँदै हुनुहुन्छ भने मधुवनमा मस्जिद भेट्टाउनु हुनेछ । पश्चिम कोशी नदीपारिबाट आउनुभयो भने महाङ्काल र मैनामैनी मन्दिर, उत्तरतर्फको पहाडीभेग भएर आउँदै हुनुहुन्छ भने वराह भगवानको दर्शन गर्न पाउनु हुनेछ । केही वर्ष अघिसम्म वराहक्षेत्र घुम्न आउनेहरूकालागि सिधै वराह मन्दिर दर्शन गरेर घर फर्किनुको अर्को विकल्प थिएन ।

पछिल्लो समयमा वराहक्षेत्र धार्मिक पर्यटनसँगै प्राकृतिक सौन्दर्यको रसपान गर्ने उत्कृष्ट थलोको रूपमा पनि विकास भएकाले जो कोहीले यसको आनन्द लुट्न सक्ने वातावरण सिर्जना भएको छ । वराहक्षेत्रमा एकाबिहानै एकातिर शङ्खघण्टको नाद सुनिन्छ भने त्यसैको छेउमा करुणाको बोधिसत्व बुद्धधर्मको मूल मन्त्र ॐ मणिपद्मे हुँ को उच्चारणले अलौकिक गुञ्जायमान हुन्छ । केही पर रहेको चर्चमा परमेश्वरसँग दयाको प्रार्थनाको गरिन्छ भने मुसलमान समुदायले पवित्र मस्जिदमा दिनको शुरुवात अल्लाहु अकबरबाट शुरु गर्दछन् । साविकको वराहक्षेत्र गाविसमा कालाबञ्जर, चक्रघट्टी, प्रकाशपुर, मधुवन र प्रकाशपुर मिलेर बनेको वराहक्षेत्र नगरपालिकाभित्र अटाउन भ्याएका यी विविध तीर्थस्थलले नगरपालिकाको धार्मिक सौन्दर्यहरूले नौलो आयाम थपिदिएको छ ।

नगरपालिकाभित्र रहेका नेपालको पहिलो कुम्भस्थल प्राचीन हरिद्वार चतराधाम र त्यहाँ रहेको ५९ फिट अग्लो कुम्भस्तम्भको अवलोकन गर्न सक्नुहुनेछ । नेपालका प्रथम जगद्गुरुसँग भेट गर्न सक्नुहुनेछ । कुम्भस्तम्भसँगै रहेको वराह भगवानको विग्रह मूर्तिको दर्शन गर्न सक्नुहुनेछ । शिश महलको पनि अवलोकन गर्न सक्नुहुनेछ । छेवाङ्टाँसी छ्योलिङ गुम्बामा गौतम बुद्धको दर्शन पनि गर्न सक्नु हुनेछ । अलिक परतिर रहेको अर्को ६२ फिट अग्लो ठूलो कदको पञ्चमुखी हनुमान मन्दिरको दर्शन गरेर फर्कदै गर्दा बाटोमा बन्दै गरेको १०८ फिट अग्लो किरातेश्वर महादेवले तपाईंलार्ई आमन्त्रण गर्नेछ ।

विचार प्रधान अद्वैत संस्थामा एकछिन बसेर शान्त भई मनभित्रको विचार मन्थनलाई केही क्षण विश्राम दिन सक्नु हुनेछ । सप्तकोशी (धार्मिक ग्रन्थमा सप्तकौशिकी) नदीमा स्नान गरी मन तथा शरीरलाई शितलता प्रदान गर्दै मनोरम प्राकृतिक हरियाली तटमा प्रकृतिको मज्जा लिन सक्नुहुनेछ । वराहक्षेत्रका धार्मिक अभियन्ता युवा पण्डित योगेश भण्डारी भन्छन्, ‘वराहक्षेत्र हिन्दुहरूको चार धाममध्ये एक हो । आएपछि कोका कौशिकी सङ्गमबाट जल लिई वराह भगवानलाई अभिषेक गर्दै नौ वटा मन्दिर, वराह कुण्ड, उठाउने तामाको ढुङ्गा, साधुधुना जुना अखाडा रहेको वराह अवतारको अवलोकन गर्न सक्नेछन् ।’

पौराणिक शास्त्रअनुसार पृथ्वीमा नभएर ब्रह्मलोकमा वसुन्धरा आकाशमा हराएका बेला भगवान विष्णु ब्रह्माको नाकको प्वालबाट वराहको रूपमा प्रकट भएर आकाशमा फाल हानेर धराको खोजी गरेर निर्धारित स्थानमा राखी दिए । त्यही सानो स्वरूपमा पृथ्वीमा बसेको स्थान नै वराहक्षेत्र भएको पण्डित योगेशले बताए । वराह भगवानको दर्शन गर्न जाने तीर्थालुको लागि सबैभन्दा आकर्षणको केन्द्र त्यहाँ रहेको ७८ किलो तौल भएको तामाको ढुङ्गाको ताम्रशिला हो । शिलालाई उठाउन सक्ने व्यक्ति भाग्यमानी र धार्मिक हुने जनविश्वास रहेको छ । उक्त ताम्रशिला विजयपुरे किराती राजाले धरानको सेउती खोलामा शिकार खेल्न जाँदा फेला पारेको र सपनामा सो ढुङ्गालाई वराहक्षेत्रमा लगेर राख्ने आदेश पाएर, राजाले उक्त ताम्रशिला त्यहाँ लगेर राखेको इतिहासकार इमानसिङ चेम्जोङले उल्लेख गरेका छन् ।

नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज भन्छन्, ‘हिजोसम्म धार्मिक तीर्थाटन गर्न विदेश जानेहरू अहिले आफ्नै मुलुकमा सबभन्दा पवित्र तीर्थस्थल र कुम्भ भूमिमा आउन थालेका छन् । आन्तरिक पर्यटनलाई अझ बढावा दिने र राज्यलाई आर्थिक पाटोमा योगदान दिन सकिने वातावरण बन्दैछ ।’ सप्तकोशी नदीको किनारमा प्रत्येक वर्ष तिहारपछि भव्यताको साथ मनाइने महापर्व छठको आनन्द लिन सक्नुहन्छ । सूर्य उपासनाको यो पर्व ४ दिन पानीसमेत नखाई निराहार बसी विश्वको सम्पूर्ण मनुष्यको कुशलता, सुख समृद्धि शान्ति र प्रेमको प्रार्थना गर्दै चराचर विश्व र यसमा अटाएका सबै जीवजन्तुको कुशलताको कामना गरिन्छ । छठ महापर्वमा प्रत्येक वर्ष नदीस्थित पूजाघाटलाई सिँगारेर प्रसाद वितरणको कार्यक्रम गर्ने गरिएको छठ महापर्व पूजा समितिका अध्यक्ष केदार साह बताउँछन् ।

नगरको आन्तरिक पर्यटनमा योगदान दिएको भन्दै त्यस स्थानमा प्रदेशको पहिलो सूर्यनारायण मन्दिर पनि निर्माणको क्रममा रहेको पिछडा वर्ग वराहक्षेत्र नगरकमिटी सचिव तथा छठ महापर्व समिति सल्लाहकार बृजनन्दन साहले बताए । वैशाख र मङ्सिर महिनामा प्रकृतिपूजक किरात राई समुदायले मनाउने उँभौली र उँधौली चाडले पनि गर्मीमा शितल बनाउँछ । हिउँदको जाडोमा सिली नाच्दा तपाईलाई न्यानो बनाउँछ । वराहक्षेत्र नपाको वडा नं. १ मा जङ्गलनजिक रहेको किरात राई यायोक्खा पार्कले सुम्निमा र पारुहाङको दर्शनसँगै त्यहाँ रहेको राई जातिको संस्कार, संस्कृति झल्कने सङ््ग्रहालयमा रमाउँदै प्रकृतिको आनन्द लिन सकिने किरात राई यायोक्खाका अध्यक्ष लालकुमार राई बताउँछन् । पूर्वको प्रसिद्ध धार्मिक वराहक्षेत्र अहिले आफैमा एउटा ब्राण्ड बनेको छ । सम्भवतः पशुपतिनाथ मन्दिरभन्दा पुरानो मानिएको वराहक्षेत्र धामको परिचयमा विशेषताहरू थपिँदै गएर यसको महŒव बढ्दै गएको छ ।

बराहक्षेत्रमा ३ वटा ठूला कुम्भमेलाको आयोजना भइसकेको छ । अङ्ग्रेजी नयाँवर्ष, मेरी क्रिसमस, इस्टर, गुडफ्राइडेमा नगरपालिकाको चारस्थान, बगुवा, चतरा, रेल्वे र फोकल्याण्ड टापु र अन्य स्थानमा रहेको चर्चमा मानिसको जमघटले नगरपालिकामा बेग्लै किसिमको रौनतकता आउने गरेको स्थानीय राम राई बताउँछन् । नगरपालिकाको पुछारमा अन्तिम वडा ११ मुस्लिम धर्मावलम्बीको मस्जिदमा नमाज पढ्दा होस् वा ईद उल फित्र, बकर इदजस्ता पर्व हेर्नलायकको हुन्छ । चतरादेखि मधुवनसम्मको वराहक्षेत्र नगरपालिका पर्यटकको रोजाइ बन्न थालेको अन्दाज लगाउन सकिन्छ । वराहक्षेत्र नगरपालिकाभरि बौद्ध गुम्बा, चर्च, विवाहित नवजोडीहरूको लागि एकपटक दर्शन गर्नै पर्ने नपाको वडा नं. ३ मा रहेको बेलाहा मन्दिर वडा ४ मा अमाहा सिमसारभित्र भवानी थानको समेत भ्रमण गर्र्न सक्नुहुन्छ । निजी लगानीमा निर्माण भइरहेको अमाहाको डिपिआरसमेत तयार भएको अवस्थामा यसले पनि धार्मिक र प्राकृतिक पर्यटकहरूको भीड लगाउने स्थानीयहरू बताउँछन् ।

हिउँदमा पूर्व मेचीदेखि पश्चिमका आन्तरिक पर्यटकहरू तथा विद्यार्थीहरू अवलोकन भ्रमणमा सप्तकोशी नदी किनारमा वनभोज मनाउन आउने गरेका छन् । वराहक्षेत्र संरक्षण मञ्चका सचिव कुमार श्रेष्ठ भन्छन्, ‘शैक्षिक भ्रमणमा आउनेहरूको सङ्ख्या बढेर ठाउँ अपुग हुने गर्दछ । यसरी पिकनिक र शैक्षिक भ्रमणपछि उनीहरू वराहक्षेत्र मन्दिर जाने गरेका छन् । वराहक्षेत्र घुम्नका लागि हिन्दु मात्र आउँदैनन्, मुस्लिमहरू पनि त्यतिकै आउने गरेका छन् । उनीहरूले कोशी नदी र प्रकृतिको मज्जा पनि लिने गरेका छन् ।’

साविकको वराहक्षेत्र गाविसको वडा नम्बर ८ अहिलेको १ नम्बर वडामा रहेको भवानी थान, लट्टेनी थान यसैगरी आदि वराह सूर्यकुण्ड पनि धार्मिक पर्यटकको लागि गन्तव्य बन्न थालेको छ । प्रत्येक वर्ष बुद्ध पूर्णिमाको दिन त्यहाँ लाग्ने भवानी थानको मेलामा नगरपालिकाका लगभग सबै वडाका मानिस मेला भर्न जाने गरेका छन् । विगत धेरै वर्षदेखि सूर्यकुण्डको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको महŒवलाई जन–ण्जनमा पु¥याउन धार्मिक अभियन्ता तथा कवि साहित्यकार कविमान बज्राचार्य एक धुनमा लागेका छन् । धार्मिक विकास तथा पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारदेखि लिएर विभिन्न सङ्घ–संस्था र व्यक्ति स्वयम् पनि लागेका छन् । युवाहरू चतरामा रहेको छिन्नमस्ता देवीको संरक्षण र सम्बद्र्धनमा लागेका छन् ।

उनीहरूले त्यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास लागेका छन् । जीर्ण तथा उपेक्षित प्रायः रहेको औलिया मठलाई रङरोगन र मर्मत गरी चिटिक्क बनाएका छन् । चतरा आउनेहरू त्यहाँ एकपटक जाने गरेका छन् । त्यहाँ मन्दिरपरिसरमा शिवरात्री पनि भव्यरूपमा मनाइने गरिएको स्थानीय अमित भगत भन्दछन् । वराहक्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउन नगरपालिकाले प्राथमिकतामा राखेको छ । प्रदेश सरकार पनि सकारात्मक देखिएको छ ।

कुम्भमेलालाई १० लाख रुपैयाँ छुट्याएको छ भने छिन्नमस्ता भगवतीलाई २० लाख रुपैयाँ र भू–वराह रामानुजलाई समेत यसैको हाराहारीमा अन्य धार्मिक संस्थालाई बजेट विनियोजन गरेको छ । २ सय २२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको वराहक्षेत्र सुनसरीको सबैभन्दा कान्छो नगरपालिका हो । ७७ हजार ६ सय ४ जनसङ्ख्या रहेको वराहक्षेत्रमा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनमा ठूलो टेवा त दिने नै छ साथै रोजगारीसमेत सिर्जना गर्ने देखिन्छ । यसका लागि पुराना मठ–मन्दिर, देवालय, शिवालय, गुठीलाई जीर्णोद्दार एवम् मर्मत गर्ने र यसैगरी टुरिजम प्लेसको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।

नगरपालिकाको सीमाक्षेत्रभित्र रहेको नेपालको सबैभन्दा ठूलो सप्तकोशी नदी पनि प्राकृतिक पर्यटनसँगै यसको धार्मिक महŒव पनि त्यतिकै छ । नदीमा बर्सेनी मकर नुहाउनेदेखि लिएर बोलबमको जल भर्ने र हरिबोधनी एकादशी मेलामा पवित्र डुबुल्की लगाउने, अन्य धार्मिक तिथिहरूमा लाखौं तीर्थालु तथा पर्यटक भित्रिने गरेका छन् । नदीमा कोशी ब्यारेजदेखि लिएर माथि वराहक्षेत्रसम्म बोटबाट यातायात सञ्चालन गरेर तीर्थालु पर्यटकहरूलाई वराहक्षेत्र मन्दिरको दर्शन र जल पर्यटनमा बढावा दिन सकिन्छ । प्रदेश सरकारका पर्यटन मन्त्री जगदीश कुसियतले वराहक्षेत्रदेखि राजाबास सर्किटमा पहल गर्ने बताएका थिए भने अहिले रामायण सर्किट र इटहरी, पकली–चतरा सडक सर्किटको समेत कुरा चलिरहेको छ ।

पूर्व–पश्चिम र मध्य पहाडी राजमार्गपछि देशकै तेस्रो लामो ३ सय १८ किलोमिटर धरान–चतरा–गाईघाट–सिन्धुली र पकली–चतरा–सडक पनि निर्माण भइरहेको छ । यसले पनि वराहक्षेत्रको पर्यटनमा ठूलो सहयोग पु¥याउनेछ । वराहक्षेत्रमा स्थानीय निकाय, प्रदेश सरकार र सङ्घीय सरकारको चासो बढ्नु, विभिन्न सङ्घ–संस्थाले आ–आफ्नै स्तरमा प्रयास गर्नु, विभिन्न ठूला धार्मिक कार्यक्रमहरूको आयोजना हुनु, विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार सडक सञ्जालसँग जोडिनु र तीनवटै सरकारले चासो लिनुले वराहक्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने दौडमा सामेल भएको देखिन्छ ।