विराटनगर /  इजाजत बेगारको २१ थान पासपोर्ट बोकेर हिड्ने एक जना ‘एजेन्ट’लाई प्रहरीले पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा गाउँपालिका – ६ का ५५ वर्षीय रत्नकुमार लिम्बुलाई इटहरी बजारबाट २१ थान पासपोर्टसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई सुनसरी प्रहरीले मंगलबार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए । वैदेशिक रोजगार सम्बन्धी ठगि मुद्दा श्रम तथा रोजगार कार्यालयले हेर्ने भएकोले प्रहरीले विराटनगर श्रम कार्यालयमा बुझाएको हो । पक्राउ परेका लिम्बुलाई म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको श्रम तथा रोजगार कार्यालय विराटनगर वरिष्ठ श्रम अधिकृत सन्जेलले बताए ।
रोजगारीमा जाने युवाहरूलाई प्रलोभनमा पारी लिम्बुले वैदेशिक रोजगारी ठगी गरिएको आरोपमा प्रहरीले चेकजाँचको क्रममा उनी पक्राउ परेका थिए । उनले वैदेशिक रोजगारमा पठाइदिने र विभिन्न प्रलोभन देखाएर पासपोर्ट धनीबाट ठगी गरिएको हुनसक्ने भएकोले श्रम कार्यालयले त्यही अनुसार अनुसन्धान अगाडी बढाएको छ । ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय संचालन गर्न नपाउने व्यवस्था गरिएको छ,’ वरिष्ठ श्रम अधिकृत संन्जेलले भने, ‘पक्राउ परेका लिम्बुको साथबाट विभिन्न जिल्ला घर भएका पुरुष र महिला नाममा जारी भएको २१ थान पासर्पोट बरामद भएको छ । उनीसँग इजाजत पत्र पनि छैन ।’ इजाजत पत्र नलिइ लिम्बुले वैदेशिक रोजगारमा पठाउने बहानामा ठगी गरिएको हुनसक्ने भएकोले श्रम तथा रोजगार कार्यालयले अहिले अनुसन्धान गर्दै आएको छ ।
बरामद भएको पासपोर्ट सिन्दुपालचौक देखिको, मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुमलगायतको जिल्ला घर भएका छन् । लिम्बुको साथबाट बरामद भएको पासपोर्ट मोरङ घर भएको बढी रहेको श्रम कार्यालयले जनाएको छ ।
श्रम कार्यालयमा वैदेशिक रोजगारमा पठाइ दिने भन्दै रकम ठगिएको उजुरी आउने क्रममा बढेको संजेलले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २ देखि पाँच जनासम्म बैदेशिक रोजगारमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगिएको प्रमाणसहित उजुरी लिएर आउने गरेको जानकारी दिए ।
‘पक्राउ परेका लिम्बुलाई मोरङ प्रहरीको हिरासतमा राख्न पत्रसहित हामीले पठाएको छौं,’ उनले भने, ‘लिम्बुमाथि अनुसन्धान भइरहेको छ । अहिले पासपोर्ट धनी पनि यस कार्यालयमा आउन थालेकका छन् । अनुसन्धानको क्रममा रहेकाले लिम्बुबाट ठगिएका छन वा छैनन त्यो भने खुलिसकेको छैन ।’ पक्राउ परेका लिम्बुले विदेश जाने गाउँघरको युवाको पासपोर्ट भेला पारी म्यानपावरमा पठाउने गरेको स्रोतको दाबी छ । उनले सम्पर्क गरेको म्यानपावरले प्रतिव्यक्त लिम्बुलाई निश्चित रकम कमिसन दिने गर्दछ । यसरी वैदेशिक रोजगारमा जाने युवाहरूको पासपोर्ट भेला पारी इटहरीस्थित म्यानपावर लाने क्रममा लिम्बु पक्राउ परिएको हो ।
यसरी वैदेशिक रोजगारमा जाने युवा खोजेर म्यानपावरमा पु¥याउनेलाई उनीहरूको भाषामा ‘एजेन्ट’ भन्ने गरिन्छ । म्यानपारवले निश्चित रकम समेत दिएर गाउँघरमा एजेन्ट राख्ने गरेका छन् । एजेन्टमार्फत प्रतिव्यक्त विदेश गए म्यानपावरले एजेन्टलाई देश हेरेर २० हजार भन्दा माथि आम्दानी अनुसार जतिपनि दिने गरेको जानकारहरू बताउँछन् ।