धरान/ दक्षिण कोरियाली पप ब्याण्ड ब्ल्याकपिङ्कको नयाँ गीत ‘किल दिस लभ’ ले सबैभन्दा छोटो समयमा सर्वाधिक हेरिएको गीतको रेकर्ड बनाएको छ ।

यो गीतलाई ६२ घण्टामा १० करोड पटक हेरिएको छ । ‘किल दिस लभ’ ले यसअघि सर्वाधिक बढी हेरिएको पपस्टार साईको गीत ‘गङ्गनम स्टाइल’ को रेकर्ड तोडेको हो ।

‘किल दिस लभ’ गीत युट्युबमा अपलोड भएको २४ घण्टामै ५ करोड ६७ लाख पटक हेरिएको थियो । गीतले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्राण्डेको गीत ‘थ्याङ्क यु’ को रेकर्ड पनि तोडेको छ ।

सन् २०१६ मा स्थापना भएको ब्ल्याकपिङ्क ब्याण्डका सबै सदस्य महिला रहेका छन् । जसमा जिसु, जेनी, रोज र लिसा रहेका छन् । ब्याण्डले यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक ‘स्क्वाएर वन’ नामक पहिलो एल्बम् बजारमा ल्याएको थियो । जसले दक्षिण कोरियामा निकै लोकप्रियता कमाएको थियो ।

ब्याण्डले पुनः सन् २०१८ मा ‘डुडुडुडू’ बोलको गीत बजारमा ल्यायो उक्त गीत पनि दक्षिण कोरियामा युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको गीत बन्न सफल बन्यो । यससँगै हालै आएर सार्वजनिक गरेको ‘किल दिस लभ’ गीतले भने युट्युब भ्युजका सबै रेकर्ड तोड्न सफल बनेको छ । गीतले कोरियामा मात्र नभएर असअघिका सबै रेकर्डहरू तोडेर विश्वव्यापी रूपमै कीर्तिमान कायम गर्न सफल भएको छ । ‘किल दिस लभ’ अङ्ग्रेजी र कोरियन दुवै भाषामा हेर्न सकिन्छ ।