यासोक/ पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा चार महिनाअघि पाँच वटा डिप बोरिङको काम सम्पन्न भयो । खानेपानीको हाहाकार भएको गाउँपालिकामा प्रदेश सरकारले १ करोड ६० लाखमा पाँच वटा डिप बोरिङ गरिएको थियो । तत्कालै तीन वटा डिप बोरिङ उत्खनन् पछि खानेपानी योजना सञ्चालन भयो । तर थप गरिएका दुई वटा योजना अलपत्र अवस्थामा छाडेको डेढ महिनापछि गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ । 
 
खानेपानी प्रभावित क्षेत्रमा गरिएको डिप बोरिङ योजना सञ्चालन नहुँदा स्थानीयले खानेपानीको उपभोग गर्न पाएका थिएनन् । डिप बोरिङ गरिएको कुम्मायक–५ को बिजुवापानी र रानीगाउँ–३ को देवलमा खानेपानीको सफल परीक्षण गरिएको थियो । खानेपानीको व्यवस्थापन कसले गर्ने भन्ने विषय टुङ्गो नलागेका कारण लामो समय लागेको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष मेघराज निरौलाले बताए । प्रदेश सरकारले ६० लाख रुपैयाँ खानेपानीको उत्खनन्का लागि मात्रै पठाएकाले बाँकी रहेको व्यवस्थापनको काम गाउँपालिकाले गर्न लागेको उनले बताए ।
 
गाउँपालिकाले दुबै डिप बोरिङ खानेपानी योजना सञ्चालनको लागि २९ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको अधिवेशनले योजना सञ्चालनका लागि उक्त रकम विनियोजन गरेको हो । विनियोजित रकमले योजनामा आवश्यक पर्ने पम्प, विद्युत र पाइप खरिद गर्ने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । पहिलो चरणमा गरिएको डिप बोरिङमा आवश्यक पर्ने पाइप र पम्प डिभि जन कार्यालयले खरिद गरेको थियो ।
 
तर दोस्रो चरणको योजनामा प्रदेशले उत्खनन्का लागि मात्रै बजेट छुट्याएकाले केही ढिला भएको हो । गाउँपालिकाले बजेट विनियोजन गरेसँगै खानेपानी व्यवस्थापनको बाटो खुलेको छ । केही दिनमै उपभोक्ता समितिले योजनाको काम अघि बढाउने गरी तयारी थालेकोे छ । योजना सञ्चालनपछि प्रभावित क्षेत्रका ३ सय ७८ घरधुरी लाभान्वित हुने भएका छन् ।