धरान । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बिहीबार बेलायतस्थित इक्वेडरको दूतावासबाट पक्राउ परेका छन् ।

उनी खोजी पत्रकारिताका लागि चर्चित बनेका थिए । विकिलिक्समार्फत् उनले थुप्रै गोप्य सूचनाहरूलाई बाहिर ल्याउन सफल बनेका थिए । पछिल्लो ७ वर्ष यतादेखि उनी इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए । अन्तर्राष्ट्रिय समाचारका अनुसार उनलाई लण्डन सहरको मेट्रो प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ । असाञ्जले अदालतमा आत्मसमर्पण गर्न अस्वीकार गर्दै आएकाले पक्राउ गरिएको जनाइएको छ । उनीमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।

इक्वेडरका राष्ट्रपति लेलिन मोरेनोले असाञ्जले अन्तर्राष्ट्रिय सन्धि उल्लङ्घन गरेकाले उनको शरण फिर्ता लिएको बताएका छन् । शरण फिर्ता लिएलगत्तै उनलाई पक्राउ गरिएको हो । तर, विकिलिक्सले भने यसलाई अस्वीकार गरेको छ । विकिलिक्सले ट्वीटमा लेखेको छ, ‘अन्तर्राष्ट्रिय सन्धि उल्लङ्घनको नाममा इक्वेडरले गैरकानूनी रूपमा असाञ्जको शरण समाप्त गरेको छ ।’ ४७ वर्षीय असाञ्जले विकिलिक्सका गतिविधिमाथि प्रश्न उठाउँदै अमेरिकाले आफूमाथि कानूनी कारबाही गर्ने भन्दै दूतावासको शरणमा थिए ।