ताप्लेजुङ (ब्लाष्ट) पाँचथरमा जारी तेस्रो वाईवाई पाँचथर गोल्डकपको सेमिफाइलनको समीकरण पूरा भएको छ ।

बिहीबार काठमाडौंको हिमालयन शेर्पा क्लबले सुनसरीको न्यूस्टार क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा पुगेपछि सेमिफाइलनको समीकरण पूरा भएको हो । हिमालय शेर्पा क्लबका मनबहादुर तामाङले खेलको ९ औं मिनेटमा गोल गदै खाता खोले । लगत्तै १३ औं र २५ औं मिनेटमा ड्याडि वाम्बाले क्लबका लागि दोस्रो र तेस्रो गोल गरे । ६७ औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै जित निश्चित गरे ।

न्यूस्टारबाट ३९ औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै ३–१ को स्थितिमा ल्याए । ७२ औं मिनेटमा दिनेश राईले गोल गरेपछि पुनरागमनको सङ्केत देखिएको थियो । खेलको ८२ औ मिनेटमा रोशन राईले गोल गर्दै ४–३ को स्थितिमा ल्याए । तर, पनि जित पर्याप्त बनेन । पहिलो सेमिफाइनल खेलमा डिएफसी मोरङ र विजय युथ क्लब हेटौडाबीच हुने आयोजकले जनाएको छ ।