धनकुटा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्राकृतिक तथा मानवजन्य विपत्तिका घटनामा सरकारभन्दा सामाजिक संस्था अगाडि रहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटीको धनकुटामा जारी पहिलो प्रदेशसभा अधिवेशन उद्घाटन गर्ने क्रममा बिहीबार कार्कीले प्रदेश सरकार विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणलगायतका कार्यको जिम्मेवारी सम्हाल्दै आएको बताए । मन्त्रीको हैसियतले सरकारभन्दा रेडक्रसजस्ता संस्था विपत् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रणी रहेको उनको भनाइ थियो । ‘कयौं विपत्तिका घटनामा सरकार भन्दा सामाजिक संस्था अगाडी रहेको देख्दा खुसी लाग्छ’, उनले भने, ‘यस्ता संस्थासंग सरकारले हातेमालो गर्दै जाने छ ।’

पछिल्लो समय विपद्को प्रकृति नयाँ स्वरूपमा बढ्दै गएकाले यसतर्फ आफ्नो मन्त्रालय गम्भीर बनेको उनको भनाइ थियो । जलवायु परिवर्तनले जोखिम बढ्दै गएको र वातावरणीय प्रकोपका घटनाले वर्षेनी धनजनको क्षति हुनेक्रम बढेको बताए । उनले मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा सबैभन्दा क्रियाशील हुने बताए । प्राकृतिक विपद्भन्दा मानव निर्मित विपद् तथा घटना बढ्दै गएकाले यस्ता कार्य न्यूनीकरणका लागि सरकार र सामाजिक संस्थाको साथ जरुरी रहेको उल्लेख गरे ।

मन्त्री कार्कीको प्रदेश स्तरीय रेडक्रसलाई सशक्त बनाउने कार्यमा मन्त्रालयअघि बढेको भनाइ थियो । ‘जहाँ दुःख, अप्ठेरो, मानवीय सहयोगको आवश्यकता खड्किन्छ, त्यहाँ रेडक्रस सक्रिय देख्छु’ उनले थपे, ‘सरकार र रेडक्रस साथसाथ हिड्न तयार छ ।’ यसैबीच, रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले प्राकृतिक तथा मानवजन्य विपत्मा रेडक्रसले सदैव राज्यलाई सघाउने बताए ।

विभिन्न स्थानमा गोदाम बनाएर आपतकालीन अवस्थामा राहत वितरण तथा रक्त, एम्बुलेन्स साथै सक्रिय पारिने थापाले जानकारी दिए । प्रदेशसभा अधिवेशनमा १४ जिल्लाका ६३ जना प्रतिनिधिसहित सयभन्दा बढी सहभागी छन् । संघीय संरचनासँगै रेडक्रसले पहिलो पटक प्रदेशसभा अधिवेशन सञ्चालन गरेको हो । उद्घाटन सत्रमा प्रदेश सांसद् इन्द्रमणि पराजुली, निरन राई, कुसुम श्रेष्ठ, रेडक्रसका प्रदेश १ का संयोजक कृष्णप्रसाद न्यौपानेलगायतले धारणा राखेका थिए । उक्त अवसरमा रेडक्रसकर्मी द्रोर्णप्रसाद गुरागाईंलाई सम्मान गरिएको थियो ।