धनकुटा/ उच्च अदालत विराटनगर धनकुटा इजलासले प्रशासनले अन्तिम समयमा रोक लगाएको अन्तर्राष्ट्रिय कलाकार सम्मिलित म्युजिक फेस्टिवल गराउन रोक नलगाउन बुधबार विपक्षीको नाममा निषेधाज्ञा उत्प्रेषण परमादेश जारी गरेको छ ।

आयोजक संस्था शक्तिपिक म्युजिक फेस्टिवलका तर्फबाट उच्च अदालत विराटनगर धनकुटा इजलासमा जिल्ला प्रशासन कार्यालयको नाममा रिट दर्ता गरेको थियो । संस्थाका अध्यक्ष खोटाङ जिल्ला दिक्तेलका सुवास केसी र धनकुटा नगरपालिका–६ का मानप्रकाश खड्काले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा र जिल्ला प्रहरी कार्यालय विरुद्ध अन्तरिम आदेशसहित निषेधाज्ञा, उत्पे्रषणयुक्त परमादेशका लागि रिट दायर गरेका थिए । उक्त आदेशका लागि बुधबार उच्च अदालत विराटनगर इजलासमा अधिवक्ता रोहितकुमार डाँगी र रामबहादुर अधिकारीले बहस गरेका थिए । अदालतले अपरान्ह विपक्षीको नाममा कार्यक्रममा रोक नलगाउन आदेश गरेको अधिवक्ता रोहितकुमार डाँगीले बताए । न्यायाधीश नितु दीक्षितको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

प्रशासनले म्युजिक फेस्टिवल ट्रान्स पार्टी गरिन लागिएको भन्दै रोक लगाएको थियो । कार्यक्रममा सहभागी हुन त्यस क्षेत्रमा पुगेका ३ सय बढी सहभागी हिलेमा अलपत्र परेका थिए । अन्य सयौं सहभागी आउने क्रम जारी रहेको बखत बाटैबाट प्रहरीले फर्काएपछि कार्यक्रम स्थगित गरिएको थियो । पर्यटन प्रवद्र्धनका लागि स्वदेशी तथा विदेशी कलाकारबाट गरिन लागिएको भनिएको उक्त साङ्गीतिक कार्यक्रम कानूनतः रोक लगाउन नमिल्ने अदालतले उल्लेख गरेको छ ।

सङ्खुवासभास्थित मादी नगरपालिकाको १ र २ वडा तथा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६ मा पर्ने राँकेडाँडामा गत २२ देखि २७ गतेसम्म गर्न लागिएको शान्ति सुरक्षा र अश्लील क्रियाकलाप हुन सक्ने अनुमानका भरमा कार्यक्रम अगावै रोक लगाउन नहुने भन्दै कार्यक्रम गरेको अवस्थामा ती गतिविधि गरिए मात्र प्रशासनले रोक लगाउन सकिने अदालतले उल्लेख गरेको छ ।

कार्यक्रम सञ्चालन गर्न कुनै किसिमले रोक नगर्नू/नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (ख) बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिएको छ । पक्राउ गरिएका शक्ति पिकका अध्यक्ष सुवास केसीलाई आज (शुक्रबार २९ चैतमा) साढे १० बजे अदालतमा हाजिर गराउनसमेत प्रहरी प्रशासनका नाममा अदालतको आदेश छ ।