धरान/ २०७५ सालमा सार्वजनिक भएका अधिकांश नेपाली फिल्मले पैसा कमाउन सकेनन् । तर यो साल सार्वजनिक भएका फिल्मका केही गीतले भने करोडौं दर्शक कमाएका छन् । 
 
‘चङ्गा चेट’ फिल्मले पैसा कमाउन सकेन । यही फिल्मको ‘गोजीमा दाम छैन’ गीतले भने चार करोड पन्ध्र लाखभन्दा बढी दर्शक कमायो । हरिहर तिम्सिनाको शब्द र राजनराज शिवाकोटीको सङ्गीतमा राजनराज र मेलिना राईले गाएको यो गीत अहिले पनि विवाह, पार्टीदेखि विभिन्न जमघटमा उत्तिकै घन्किन्छ । यो वर्ष सबैभन्दा बढी कमाएको फिल्म ‘छक्कापञ्जा ३’ को ‘पहिलो नम्बरमा’ गीतले दर्शक चाहिँ दोस्रो नम्बरमा कमायो । राजेन्द्र थापाको शब्द र दीपक शर्माको सङ्गीतमा डेविड शङ्कर र विन्दु परियारले गाएको यो गीत हालसम्म तीन करोड छपन्न लाखभन्दा बढी हेरिएको छ । 
 
पैसा कमाउन नसकेको फिल्म ‘रोज’ को गीत ‘फूल होइन’ पनि करोड दर्शक कमाउने गीतमा पर्छ । राजेशकुमार श्रेष्ठकोे शब्द र एलिश कार्कीको सङ्गीतमा प्रताप दास र प्रविशा अधिकारीले गाएको यो गीतले दुई करोड उनान्साठ्ठी लाखभन्दा बढी दर्शक कमायो ।
 
फिल्म ‘प्रसाद’ का दुई गीतले करोडभन्दा बढी दर्शक कमाएको छ । बी पाण्डेको शब्द र सुवास भुषालको सङ्गीतमा रूपक डोटेल र अञ्जु पन्तले गाएको  ‘वनकी चरी’ गीतको भिडियो एक करोड उनान्असी लाख पटक हेरियो भने प्रसादकै अर्को गीत ‘लै लै’ एक करोड तीस लाख पटकभन्दा बढी हेरिएको छ । गणेश शाही शब्द र सुवास भुषालको सङ्गीतमा केतन क्षेत्री गाएको गीत हो यो ।
 
‘कोहलपुर एक्सप्रेस’मा राजनराज शिवाकोटीको शब्द÷सङ्गीतमा राजनराज र मेलिना राईले गाएको ‘सीओडब्ल्यु काउ’ गीतको भिडियो एक करोड चौहत्तर लाखभन्दा बढी हेरिएको छ । त्यस्तै फिल्म ‘जय भोले’ मा राजनराजकै शब्द सङ्गीतमा राजनराज र मेलिनाले गाएको ‘उम्लियो भने पोखिन्छ’ एक करोड अन्ठाउन्न लाख भन्दा बढी हेरिएको छ । करोड दर्शक कमाउने गीतमा ‘इन्टु मिन्टु लण्डनमा’ को ‘उडायो हावाले’ पनि पर्छ । हर्कुलस बस्नेतको शब्द सङ्गीतमा हर्कुलस र निकिता थापाले गाएको यो गीत एक करोड चौउन्न लाख पटकभन्दा बढी हेरिएको छ । 
 
यही वर्षको शुरुमा रिलिज भएको फिल्म ‘ह्याप्पी डेज’का लागि राजनराजको शब्द सङ्गीतमा राजनराज र अञ्जु पन्तले गाएको गीत ‘चेप्टे चेप्टे पेरुङ्गो’ को भिडियो एक करोड सत्ताइस लाखभन्दा बढी हेरियो । ‘क्याप्टेन’ फिल्मका लागि अर्जुन पोखरेलको सङ्गीत र दिग्गज धौरालीको शब्दमा सुगम पोखरेल र अञ्जु पन्तले गाएको ‘रहर छ सँगै’ एक करोड चार लाख पटकभन्दा बढी हेरिएको छ । यसरी यो वर्ष फिल्म नचले पनि धेरै गीतले करोड दर्शक कमाउन सफल भए ।