ताप्लेजुङ । सङ्घीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले पहिचानको आधारमा १० राज्य दिनुपर्ने पुरानो अडानलाई कामयै राखेका छन् ।
बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा चौथो जिल्ला सम्मेलनको क्रममा अध्यक्ष लिङ्देनले षडयन्त्रपूर्वक सगरमाथा वा कोशीजस्ता नाम राखिए पार्टीले जस्तो सुकै मूल्य चुकाउनसमेत तयार रहेको बताए । उनले गैर भौगोलिक दलित शिल्पी स्वायत्त प्रदेश पनि हुनुपर्ने बताए ।

सत्ताको बागडोर सम्हालेको दुईतिहाई बहुमतको सरकारका कारण राजनीतिक समस्या, महँगी, बेरोजगारी, महिला हिंसा र भ्रष्टाचार बढेको उनले आरोप लगाए । जिल्ला सम्मेलनबाट भूपेन्द्र मावोका अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।

अधिवेशनले चार उपाध्यक्षमा क्रमशः विष्णुकुमार लिम्बू, रामकुमार साम्सोहाङ, रूपा चोङ्वाङ र नरेन्द्र आङ्वुहाङलाई चयन गरेको हो । सचिवमा क्रमशः पेली मावोहाङ, असोक मादेन र सुजता लाबुङ, कोषाध्यक्षमा केदार ताम्लिङ, र सहकोषाध्यक्षमा नरेन्द्रकुमार मावोलाई चयन गरेको हो ।

बुधबार नै सम्पन्न अधिवेशनले पार्टीको जनवर्गीय सङ्गठन सङ्घीय विद्यार्थी युनियनको समेत नयाँ कार्यसमिति चयन गरेको छ । उमा चोङवाङको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरृेको हो । कार्यक्रममा अध्यक्ष लिङ्देनसहित प्रदेश १ का सांसद् विष्णु तुम्वाहाम्फे, केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङलगायतको उपस्थिति रहेको थियो ।