‘दुधे दाँत त हो, किरा लागे फालिदिए भइहाल्यो नि। अर्को आइहाल्छ, किन चिन्ता लिनु। बच्चाको दाँत धेरै सफा गरिरहन पनि पर्दैन।’

दुधे दाँतको विषयमा धेरैजसो आमाबाबुको यस्तै धारणा रहेको पाइन्छ। झर्ने दाँत त हो नि भनेर बच्चाको दाँतलाई त्यति धेरै हेरचाह गरेको पनि देखिँदैन।

किरा लाग्यो भने त उपचार गरी दाँत जोगाउनेभन्दा झिकेर फाल्दिहाल्ने चलन छ। धेरै अभिभावकलाई आफ्ना नानीहरुको दुधे दाँतको महत्व कति छ भन्ने कमै जानकारी छ।

दुधे दाँतको महत्व के छ ? 
बच्चाको दुधे दाँतको महत्व धेरै छ। उनीहरुले खाना खानेदेखि बोल्नका लागि पनि दाँत आवश्यक हुन्छ। बालबालिकाको दाँत पहिले नै झर्‍यो भने उनीहरुको बोली स्पष्ट नहुन सक्छ।

दाँत झरेमा वा किराले खाएर टुक्राटुक्रा परेमा बच्चाको वृत्तिविकासमा प्रभाव पार्छ। विद्यालयमा अरु बच्चा वा ठूलै मानिसले पनि दाँत नभएको भनेर जिस्क्याउने, खिसी गर्ने हुनाले बच्चाको आत्मविश्वासमा पनि नकारात्मक असर परिरहेको हुन्छ। जसले उनीको व्यक्तित्व विकासमा प्रभाव पार्छ।

बच्चाको दुधे दाँत २० वटा हुन्छन् । दुधे दाँत ६ महिनादेखि उम्रिन थाल्छ र २४ महिनाभित्रमा पलाइसक्छन् । तर ६ महिनादेखि उम्रिने कुरा विदेशी बच्चामा गरिएको अध्ययनका आधारमा भनिएको हो।

नेपालका बच्चाहरुको परिपे्रक्षमा हेर्दा ८/९ महिनामा दाँत उम्रिन थाल्छ। नेपाल र विदेशको खानपान फरक भएर पनि दाँत उम्रिने समय फरक छ।

यस विषयमा बाल दन्तरोग विशेषज्ञहरुले देशैभर अध्ययन गर्दैछन्। सो अध्ययनपछि नेपाली बच्चाको दाँत कुन महिनामा निस्किन्छ भन्ने थाहा हुन्छ। दाँत कहिले उम्रिन थाल्छ भन्ने जिज्ञासा लिएर पनि अभिभावक चिकित्सककहाँ आउने गर्नुहुन्छ।

दुधे दाँतको मु्ख्य काम खान चपाउनका लागि नै हो। ६ देखि ७ वर्षको उमेरसम्म पछाडिको दाँत नै मुख्य चपाउने दाँत हुन्।

सात वर्षपछि एउटा स्थायी बंगारा उम्रिन्छ। अनि त्यसले खाना चपाउन मुख्य भूमिका खेल्न थाल्छ। अनि दुधे बंगारा र स्थायी एउटा बंगाराले १०/१२ वर्षसम्म चपाउन लागि काम गर्छ। १० वर्षको उमेरतिरबाट ती दुधे दाँत फेरिन थाल्छन्।

६ वर्षको उमेरमा दाँतमा किरा लागेको छ भने सकभर त्यसलाई फाल्नु हुँदैन। उपचार गरेर ठाउँमा राख्नुपर्छ।

दुधे दाँतको उपचार गरिएन भने संक्रमण हुन्छ। संक्रमण भई नशालाई भेट्यो भने दुख्ने र पछि जरासम्मको उपचार गर्नुपर्ने हुन्छ।

अहिले पनि धेरैलाई गाला सुन्नियो भने दाँतको कारणले होला भन्ने थाहै हुँदैन। दाँतको कारणले गाला, घाँटीसम्मलाई असर गर्छ। किरा लाग्यो, त्यसको उपचार गरिएन भने नशालाई भेट्छ र गिजासम्म उपचार गर्नुपर्ने हुन्छ ।

दुधे दाँत छिटो निकाल्दा हुने समस्या
बच्चाको दाँत खानका लागि मात्र नभई बोल्नलाई पनि आवश्यक पर्छ। विशेषगरी अगाडिको दाँत अझ महत्वपूर्ण हुन्छन्। व्यक्तित्व विकासको लागि दाँत बचाएर राख्नुपर्छ।

समयअघि नै बच्चाको दाँत झिक्दा पछि आउने दाँत बांगोटिंगो भएर आउँछ। किनभने पहिले नै दाँत फाल्यो भने त्यो ठाउँमा अरु दाँतले ठाउँ लिन्छ।

दुधे दाँत जोगाउन के गर्ने
दुधे दाँत बचाउनका लागि सबैभन्दा पहिले ब्रस गर्न सिकाउनु पर्छ। खाना खाएपछि नियमित मुख कुल्ला गर्ने र राति खानापछि नुन पानीले कुल्ला गर्ने बानी बसाल्नु पर्छ।

मुख रोगहरु जस्तैः दाँत र गिजासम्बन्धी धेरै रोगको रोकथाम र निवारण गर्न सकिन्छ।

हरेक ६ महिलामा दन्तरोग विशेषज्ञसँग जँचाउने गर्नुपर्छ ।

दाँत किरा लाग्नबाट जोगाउने अस्पताल गएर हरेक ६ महिनामा फ्लोराइड लगाउन सकिन्छ। बंगाराहरुमा पिट र फिसर सिल्याट लगाउँदा किरा लाग्ने सम्भावनालाई कम गर्न सकिन्छ।

शिक्षण अस्पतालमा २र३ महिनामा छुट्टै दन्त अस्पताल सुरु हुँदैछ। त्यसपछि यी प्रविधि पनि सुरु गर्ने योजना छ।

व्यक्तिगत हेरचाह र मुख स्वास्थ्यलाई असर पार्ने जोखिमबाट बच्नुपर्छ।

बालबालिकाको दुधे दाँत जोगाउँदै उनीहरुलाई दाँत स्याहार गर्न सिकाउनु पनि अभिभावकको जिम्मेवारी हो।

(डा अग्रवाल शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन्)

स्वास्थ्यखबरबाट