इटहरी/ नेपाली काङ्ग्रेसको आसन्न तेह्रौं महाधिवेशन नजिकिँदै गर्दा काङ्ग्रेस नेताहरू आन्तरिक कलहमै व्यस्त छन् । गुट–उपगुटको विषयमा चर्को भाषण गर्ने नेताहरू मञ्चमा आफ्नै नेताहरूको तीव्र विरोध गर्छन् । खरो रूपमा प्रतिपक्षको भूमिका देखाउने बेला काङ्ग्रेस आन्तरिक झगडामै अल्मलिँदै छ । 
 
सुनसरीको इटहरीमा शिखर पुरुष गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै काङ्ग्रेसका शीर्ष नेताहरूले नै आफ्नै नेतृत्वको विरोध गरे । पार्टी सभापतिले ‘यो गरेन, त्यो गरेन’ भन्दै पार्टीकै विरोधमा माइक समाउन पुगे अधिकांश केन्द्रीय नेता । भावी महाधिवेशनमा सभापति दाबी गर्ने डा.शेखर कोइरालादेखि सुजाता कोइरालासम्मका नेताहरूले आफ्नै पार्टीको विरोध गरे । 
 
काङ्ग्रेस नेता डा. कोइरालाले पार्टी नियम र विधानभन्दा पनि निश्चित स्वार्थको लागि केही गिरोहहरूले प्रयोग गरिरहेको आरोपसमेत लगाए । ‘पार्टीभित्रको गुट–उपगुटले काङ्ग्रेस कमजोर भयो भन्दा पनि गिरोहले काङ्ग्रेस कमजोर बनाउँदैछ’ –कोइरालाले भने । बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले भने, ‘गुट चलाउन मात्र भ्याए पार्टी चलाउन सकेनन्, वामपन्थी सरकारले देशमा मनपरीतन्त्र मच्चाइरहँदा किन चुपचाप छ काङ्ग्रेस नेतृत्व ?’
 
पूर्वअर्थमन्त्री रामशरण महतले पार्टीभित्र गुटकै कारण काङ्ग्रेसीहरूमा उत्साहभन्दा निरुत्साहित भएको बताए । ‘गिरिजाबाबुले देशमा परिर्वतन गरे तर अहिले पार्टीभित्रको गुट छताछुल्ल छ’ –नेता महतले भने । देशमा प्रतिपक्षको भूमिकासमेत राम्ररी निर्वाह गर्न नसकेको पार्टी सभापति देउवाले पार्टी बिगारेको उनको आरोप थियो । पार्टी सभापतिले राम्ररी नेतृत्व गर्न नसकेकै कारण कार्यकर्ताहरूमा निराशा ज्यादा बढेको उनको टिप्पणी थियो । गुट चलाउनेहरूले पार्टी चलाउन नसकेको भन्दै उनले आफ्नै सभापतिको विरोध गरे । 
 
जीपी कोइराला फाउण्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीलाई बलियो बनाउन फाउण्डेसनलाई सक्रिय बनाउँदै लौजाने बताइन् । पार्टीभित्र गिरिजाप्रसादको योगदान र राजनीतिक बहस गर्दै जानुपर्ने भए पनि अहिलेको पार्टी नेतृत्वले गलत बाटो रोजिरहेको उनको भनाइ थियो । ‘योगदानको कदर गर्न अहिले पार्टी नेतृत्वले जानेन’ उनले भनिन्, ‘नेपाली राजनीतिका महŒवपूर्ण घटनाहरूमा कोइरालाको योगदान र सङ्घर्षलाई अहिलेको नेतृत्वले मूल्याङ्कन गरेन ।’
 
पूर्वमन्त्री तथा केन्द्रीय सदस्य रामकृष्ण यादव पनि कड्किए, ‘पार्टीलाई सशक्त बनाउँदै लौजानुपर्ने बेलामा पार्टी गुट–उपगुटमै अल्मलिएको छ ।’ अहिलेको सरकारले जनता मार्ने काम गरेको आरोप लगाउँदै काङ्ग्रेस कडा प्रतिपक्षीको भूमिका निर्वाह गर्न चुकेको भन्दै नेतृत्वको आलोचना गरे । नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा नेपाली काङ्ग्रेसका प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो हिँड्नु जरुरी रहेको बताए । गुट अन्त्य गर्नु काङ्ग्रेसको राम्रो सङ्कल्प रहेको उनको भनाइ थियो । 
 
जीपी फाउण्डेसन प्रदेश–१ की संयोजक इन्दिरा थापाले फाउण्डेसनलाई थप सक्रिय बनाउँदै लौजाने बताइन् । नेपाली काङ्ग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेल, तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ, नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य सूर्य राईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जीपी फाउण्डेसन सुनसरीका संयोजक चन्द्रशेखर लामाको अध्यक्षतामा भएको थियो ।