बिर्तामोड/ दुग्ध सहकारी संस्था तथा उद्यमीहरूसँगको साझेदारीमा प्रदेश १ कै ठूलो मिल्क पाउडर प्लाण्ट उद्योग सञ्चालनमा आउने भएको छ ।

२०७७ सालदेखि सञ्चालनमा आउने गरी प्रदेश सरकार तथा डेरी उद्योगी र सहकारी संस्थाको संयुक्त लगानीमा इटहरी उपमहानगर पालिका–१ आँपगाछीमा उद्योग स्थापना गरिएको हो । सगरमाथा मिल्क पाउडर प्लाण्ट नाम दिइएको उद्योगले दुई वर्षपछि किसानबाट उचित मूल्यमा दूध खरिद गरी ‘मिल्क होलिडे’ अन्त्य गर्ने लक्ष्य राखेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले जानकारी दिए । उनका अनुसार उद्योगबाट पाउडर दूध उत्पादन गरी पहिलो चरणमा आन्तरिक बजारमा खपत गरिनेछ । उद्योग सञ्चालन गर्न प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २१ करोड तथा डेरी उद्योगी, सहकारी र निजी डेरी उद्योगको १० करोड रुपैयाँ लगानी रहेको छ ।

उद्योग सञ्चालन गर्नका लागि सरकार र उद्यमीबीच सम्झौता भएको छ । सरकारबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले हस्ताक्षर गरेका छन् भने उद्यमी पक्षबाट कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष बाबुराम खत्री, सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवद्र्धन केन्द्रका अध्यक्ष योगेन्द्र चिमरिया र जीवन विकास डेरी प्रोडक्ट प्रालिका अध्यक्ष दीपेश खतिवडाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रअनुसार कामधेनुको ४५ प्रतिशत, सगरमाथाको ४५ प्रतिशत र जीवन विकासको १० प्रतिशत लगानी रहने छ । त्यस्तै, कामधेनु दुग्ध विकास सहकारी संस्थाको स्वामित्वमा रहेको जग्गामा परियोजना अन्तर्गत कार्यहरू चालु आर्थिक वर्षमा शुरु गरी आगामी आर्थिक वर्षमा सम्पन्न गरेर पाउडर दूधको नियमित उत्पादन गरिने उल्लेख छ । कामधेनु डेरी उद्योगको स्वामित्वमा रहेको दुई बिघा जग्गामा अहिले प्लान्ट उद्योगको भवन बनाउने काम भइरहेको छ ।

प्लान्ट उद्योग सञ्चालनका लागि भौतिक संरचना निर्माण, मेसिनरी तथा उपकरण खरिद, ल्याब, कोल्ड रुम, ट्रान्सफर्मर, विद्युतीकरण, प्याकेजिङ, ट्रान्सपोर्टेसन, भन्सार शुल्क, बिमा शुल्क, प्राविधिक परामर्शलगायतका शीर्षकमा प्रदेश सरकारले अनुदान गर्ने सहमति भएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश सचिवलगायत डेरी उद्योगीहरूको उपस्थिति रहेको थियो । प्लान्ट सञ्चालन गर्नका लागि दुवै पक्षबीच २४ बुँदामा सहमति भएको सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवर्धन केन्द्र प्रालिका अध्यक्ष योगेन्द्र चिमरियाले जानकारी दिए । अहिले प्रदेश नम्बर एकमा चाहिनेभन्दा पनि बढी दूध उत्पादन भइरहेको छ ।

दूध बिक्री नहुँदा किसानहरूले बेला–बेला सडकमा दूध पोखेर आन्दोलन गर्नु पर्ने बाध्यता छ । तर, प्लाण्ट सञ्चालनमा आएपछि किसानका दूध खेर नजाने डेरी एसोसिएसनका उपाध्यक्ष राजन चिमरियाले बताए । ‘अहिले हाम्रो प्रदेशमा १ सय २९ प्रतिशत दूध चाहिनेभन्दा बढी उत्पादन हुने गरेको छ, ‘खेर गइरहेको दूधको उचित व्यवस्थापन गर्न प्रदेश सरकार, डेरी उद्योग, सहकारी र निजी डेरी सञ्चालकहरू लागिपरेका छौ ।

अब मिल्क होलिडे सदाका लागि अन्त्य हुनेछ ।’ उनले प्लाण्टबाट उत्पादित पाउडर दूध आन्तरिक बजारमै खपत गर्न सकिने बताए । उपाध्यक्ष चिमरियाले किसानका समस्या पहिचान गरेर अनुदान दिनेसम्मका योजनाहरू ल्याउन आफूहरू लागि परेकोसमेत बताए ।