जोगवनी–किमाथाङ्का जोड्ने ६ लेन सडकको निर्माण कार्यप्रति जनताको प्रश्नै प्रश्न छ । निर्माण कम्पनीले सडकछेउको नालामाथि स्ल्याव नराखेका कारण आम सर्वसाधारण जोखिम मोल्न बाध्य छन् । बीचमै अपूरो निर्माण गरी छाडिएका नालाहरू पैदलयात्रुका लागि अहिले धराप बनिरहेका छन् भने नाला फोहोर फ्याँक्ने डम्पिङ साइड बनेको छ । सडकछेउको नालामा स्ल्याव नराखिँदा नाला अहिले ज्यानमारा बनेको छ ।
 
आवत–जावत गर्ने मानिसहरूका कतिपय सामानहरू नालामा झरेको र नालामा परेर देशले एउटा पूर्वखेलाडी शम्भु बास्तोला गुमाउनु परेको छ । नाला गहिरो र फोहोर भएका कारण त्यहाँ अकस्मात केही वस्तु झरेमा निकाल्न सकिने अवस्था छैन । अझ रातको समयमा मानवीय दुर्घटना हुनसक्ने सभावना बढी छ । यसबारे सरोकारवालालाई किन थाहा हुँदैन । स्ल्याव हाल्न किन हेल्चेक्र्याइँ गरेको हो ? किन ठेकेदारको मनपरीविरुद्ध बोल्दैन प्रदेश सरकार र निर्माण आयोजना ? खनार क्षेत्रको नालीमा आवत–जावत गर्ने  ८ जना खसेका छन् । नालामा धेरै सामान झर्ने गरेको छ ।
 
नालामाथि स्ल्याव हाल्न कसले रोक्यो ? नालामा फोहोर भरिएका कारण मुसाले भत्काउन थालेको छ भने कतै फोहोर कुहिएर दुर्गन्धित बनेको छ । तर खै त हाम्रो स्थानीय सरकार ? किन बोल्दैन प्रदेश सरकार ? यस विषयमा जनआवाज आवश्यक छैन र ? फोहोर र नाला व्यवस्थापनमा उपभोक्ताको हितका लागि आवाज उठाउने व्यक्तिहरूलेसमेत विभिन्न निकायमा पहल गरे पनि उपलब्धि शून्य छ । व्यस्थापनका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले पहल नगर्दा सडकमा ठेकेदारको रजाइँ चल्दै छ । जताततै स्ल्याव हाल्न बाँकी रहेका ठाउँहरूमा स्ल्याव हाल्ने काम हुनै पर्छ ।  लामो समयसम्म पनि खुल्ला नालाका कारण मानवीय दुर्घटना बढ््नुले साथै दुर्गन्धित हुनाले वातावरण प्रदूषणसँगै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । यस विषयमा आयोजना किन बेखबर छ ?
 
प्रदेश नं. १ को महत्वाकांक्षी योजनाको रूपमा काम अगाडि बढाइएको विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजना इटहरी र दुहबी बजार छाडेर विराटनगरदेखि तराहरासम्मको कामले जनतामा उत्साह छाएको छ । बजारक्षेत्रमा भने विस्तारमा विवाद भएका कारण काम गरिएको छैन । ६ लेनको सडकको विस्तारको काम विभिन्न ११ वटा प्याकेजमा भइरहे पनि ठाउँ –ठाउँमा निर्माण कार्य अवरुद्ध हुनु आफैमा लज्जाको विषय हो । एडिबीको ऋण सहयोगमा सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोड विनियोज गरी काम शुरु गरेको थियो ।
 
राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी–धरान सडकलाई सेन्टर लाइनबाट दाँया–बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भएको उल्लेख छ । त्यसैगरी ०३४ साल असार २० गते राजपत्रमा सूचना जारी गरी रानी– धरान सडक केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटिर कायम गरिएको थियो । २०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गाधनीलाई दिइसकेको भए पनि सडक विस्तारमा कसैले ध्यान दिएको पाइँदैन । ६ लेन सडकको दुवैछेउमा निर्माण कम्पनीले मापदण्डविपरीत नाला निर्माण गरिरहेको छ । निर्माणमा कमसल इँटा प्रयोग गरेको भेटिएको छ । सम्झौतामा नालाको भित्री पर्खाल प्लास्टर गरेपछि मात्रै ढलान गर्नुपर्ने हुन्छ तर खै त सरकारी निकायको अनुगमन ? जनता जाग्नुको विकल्प छैन । 
 
धुलो नियन्त्रण गर 
६ लेन सडक निर्माण भइरहेको सडक अति व्यस्त उक्त सडक हो । सवारीसाधनले उडाएको धुलोले मर्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुवैपट्टि ढल निर्माणले पनि सडक धुलाम्य बनेको छ । प्रदेश मन्त्रालयदेखि इटहरीको मुख्य चौक हुँदै दैनिक आवत–जावत गर्छन् । त्यो सडकमा धुलोले हैरान पार्छ । केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ । चालकले सहज रूपमा सवारी साधन चलाउन पनि सक्दैनन् । इटहरी आउजाउ गर्ने सबै यात्रुलाई समस्या परेको छ । मोटरसाइलक चालकलाई त झन् कठिन छ ।
 
धुलोको विषयमा सबै सरोवाला मौन छन् भने यात्रुले हैरानी बेहोरेका छन् । समयमा काम पूरा नहुने समस्या त छ नै । ठेकेदारले जहाँ पायो त्यहीँ निर्माण सामग्री राख्नाले झन् ठूलो समस्या छ । धुलो रोक्नका लागि पानी नछर्कने निर्माण कम्पनीहरूको बानी छ । यी सबै समस्याको मार चाहिँ यात्रुले खेपिरहेका छन् । नियमअनुसार ठेकेदारले सडकमा धुलो उड्नबाट रोक्नुपर्ने हो । ‘मोटरसाइकलमा हिँड्दा शरीरभरि धुलो हुन्छ । मोटरसाइकलमा पनि थुप्रै हिलो र धुलो लिएर जानुपर्ने अवस्था छ । बनेका पूर्वाधारमा पनि कसैको चिन्ता छैन, एकातिर बन्दै गरेको सडकमा धुलोको समस्या छ भने अर्काेतिर बनिसकेको पूर्वाधारको संरक्षणमा समेत कसैको चासो छैन ।