धरान/ अफ्रिकन मुलुक केन्यामा १२ नेपाली युवती एक डान्स बारबाट पक्राउ परेका छन् । 
 
शनिबार केन्या प्रहरीले छापा मार्ने क्रममा क्लबका मालिकसँगै १२ नेपाली युवतीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार क्लबका मालिक आसिफ अलिराली इलिभाइ जेजेठालाई पक्राउ गरेको हो । उनीसँग क्यानडाको पासपोर्ट प्रहरीले फेला पारेको छ । 
 
केन्याको मोम्बासा काउन्टीको नियालीस्थित न्यू रङ्गिला बारमा प्रहरीले शनिबार बिहान ४ बजेतिर छापा मारेको थियो । त्यसक्रममा प्रहरीले १२ नेपाली महिलालाई पक्राउ गरेको केन्याको डेल्लीनेशन डटकमले उल्लेख गरेको छ । ती युवतीहरूलाई मानव तस्करी गरेर त्यहाँ पुर्याएको प्रहरीले अनुमान गरेको छ । पछिल्लो समय केन्या प्रहरीले अन्तर्राष्ट्रिय मानव तस्करीका विरुद्ध कडाइ गरेको छ । 
 
मालिक जेजेठासँग फेला परेको क्यानडाको पासपोर्टबारे अनुसन्धान थालेको छ । उनी क्यानेडियन नागरिक नभएको प्रहरीले जनाएको छ । उनीसँग कसरी क्यानडाको पासपोर्ट आयो भन्ने विषयमा पनि अनुसन्धान गरिरहको छ । डेल्लीनेशनका अनुसार उनीहरूलाई सोमबार मोम्बासा अदालतमा उपस्थित गराइँदै छ । मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेप चेबीले ‘अप्रेशन’ सफल भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘दुई सातादेखि निरन्तर निगरानी बढाएका थियौं । उनीहरू कसरी लुङ्गालुङ्गा सीमाबाट केन्या प्रवेश गरेँ ।’ 
 
उनीहरू केन्याको लुङ्गालुङ्गा सीमाबाट प्रवेश गरेको अनुमान गरिएको छ । सोही सीमाबाट नै प्रहरीले पछ्याएको थियो । तर, कसरी उनीहरू सुरक्षित रूपमा केन्या प्रवेश गरे भन्ने विषयमा प्रहरी नै आश्चर्यमा परेको छ । 
 
मानव तस्करी गरी केन्यामा यौन व्यवसाय फष्टाइरहेको भन्दै मानव तस्करीविरुद्ध त्यहाँको प्रहरीले कडाइ गरेको हो । केन्या प्रहरीले यसलाई अन्तर्राष्ट्रिय मानव तस्करीको ‘सिण्डिकेट’ तोड्न सफल भएको प्रतिक्रिया दिएको छ ।