पाँचौं र छैठौं शताब्दीतिर हिन्दुका अन्तिम सम्राट हर्षबद्र्धनको अवसानपछि नेपालमा लिच्छिवीहरूको शासन व्यवस्था थियो । त्यसैताका मिथिला जनपद राज्यमा विभाजन भयो र त्यसबेला विभिन्न सामन्तहरू आ–आफ्नो प्रभुत्व अनुसार ११ देखि १४ कोस दूरीका राज्यहरू कायम गर्ने क्रममा मिथिला राज्य अन्तर्गत नै महिसोथा जनपद सबभन्दा शक्तिशाली जनपद कायम भयो । महिसोथा जनपदका राजा सलहेशले नै तिब्बतको ताङवंशसँग मिलेर एक लाख चिनी फौजसँग गरेको मिथिलाको युद्ध नै अन्तिम युद्ध मानिन्छ । त्यसका अयोध्या राजा सलहेश थिए ।

यसरी तमाम लोकगाथाको आधारमा पराक्रमी वीरयोद्धा भएकोमा नै मिथिलाका योद्धा राजा सलहेश स्थापित भएका छन् । मानव सभ्यता शिकारी युगबाट कृषि युगमा प्रवेश गर्न लागेको अवस्थामा पशु पालनको बढी महŒव थियो । त्यसबेलामा यहाँका साना साना जनपदहरूमा भूटान, चीन र तिब्बतबाट जहिले पनि किरातीहरूको आक्रमण भइरहन्थ्यो । त्यसबेला महिसोथा जनपदलाई सुरक्षा दिने एक युवक क्षेत्रका क्षेत्रपाल थिए, जसले तरेगना गढकै लडाइँमा किरातहरूलाई परास्त गरेर तरेगनागढलाई सुरक्षा दिने क्रममा तरेगनाका राजा महेश्वर भण्डारीले सलहेशलाई मोरङ र महोत्तरी जनपद पुरस्कारको रूपमा प्रदान गरे र सलहेशलाई राजापदबाट विभूषित गरियो ।

राज सलहेश देवत्व प्राप्त अवतारित पुरुष थिए । एउटा महान् ब्रह्मचर्य पालक न्याय प्रेमी र स्वाभिमानी व्यक्तित्व भएका राजा थिए । उनको जन्मस्थलबारे र जात वर्णबारे विद्वानहरूमा एकमत छैन, कसै–कसैले बेगुसराय विहारमा त कतै अन्य ठाउँको नाम उल्लेख गरे पनि ग्रन्थहरूकै आधारमा नेपालको तराई प्रदेशमा भएकोमा सबै एकमत भइसकेका छन् । पिता सोमदेव र माता शुभ गौरीको कोखबाट जन्मेका जयदेव नाम गरेका बालकलाई राजतिलक भएपछि शैलेश नाम रहन गएको हो । जसको विहे विराटनगरका राजा हलेश्वर जुदेवकी सुपुत्री सत्यवतीसँग भएको थियो । यिनकै जन्म उत्सवकै दिनमा चैत्र महिनाको अन्तिम दिन र वैशाख महिनाको पहिलो दिनको शुभअवसरमा धुमधामका साथ नेपालको तराई भू–भागमा अद्योपान्त मनाइन्छ ।

राजा शैलेश अति पराक्रमी, प्रतापी योगबल साधक ब्रह्मचारी योद्धा थिए । जो शेरमा सवार भएर विहार, बङ्गाल र नेपालको तराई क्षेत्रमा भ्रमण गर्दथे । मोरङकी महिला कुशमा, रेश्मा, दौना, मालिन पनि योग शिद्धा थिइन् । जसले शैलेससँग एकतर्फी प्रेम गर्न लागिन् र प्रेम पासमा फसाउने प्रयासमा लागिन् तर सफल हुन सकिनन् । तब मोरङका नरेशलाई प्रसन्न गरी शैलेशसँग विहे गर्ने प्रस्ताव राखिन् । नरेशले मालिनसँग विहेको प्रस्ताव राखिन् र शैलेश किंकर्तव्यविमूढ भई प्रस्तावलाई टार्न सकेनन् भने उता मालिन अति प्रसन्न भएर एउटा तलाउमा नुहाउन गएका शैलेश अन्तरध्यान भए । र, एउटा फूलको रूपमा परिवर्तन भए । उता मालिनी प्रेमविछोड भएर त्यही फूललाई पूजा आराधना गर्न लागिन्, जहाँ आज पनि फूलबारीको नामले प्रसिद्ध छ । राजा शैलेशको पूजा लोकदेवको रूपमा गरिन्छ । र अहिले पनि जय राजाजी भनेर सम्बोधन गरिन्छ । शैलेशको अर्थ नै पर्वत राज्य हो ।

पर्वतबाट मैदानी इलाकासम्म उनको राज्य भएकोले पर्वत राज्य शैलेशको नामले पनि प्रसिद्ध छ । जसको सम्बन्ध लालहाट, बरेलादह, तिसीपुर बङ्गाल, नेपाल महिसोथा, श्यामलगढ, मोरङ, विराटपुर, मैनीगढ, सतखोलिया, बेलकागढ, बरहरधार, मानिकदह, गङ्ेगादह, कोशिका, पर्वापोखर, बाखैरबरही आदि स्थलहरूको गाथामा उल्लेख पाइन्छ । जसमध्ये पर्वापोखर, बरहरधार, मानिकदह, मैनीगढ हालको सिरहा जिल्लामा नै पर्दछन् भने विहारको जयनगरभन्दा पश्चिम मधुवनी जिल्लाको बासोपट्टी गाउँसँग संलग्न छोपहर चौरी छ । जहाँ सातसय घाँस काट्ने घसबाहिनीको प्रसङ्ग तथा शैलेश र मोतीरामको ससुराली विराटनगर र उदयपुरको त्रिवेणीमेला जहाँ शैलेशकी बैहनी वनस्पति र शतखोलियाका राजा शैनीका बीच भएको प्रेमकथा प्रसिद्ध छ ।

फूलबारीबाट फूल लिएर राजा शैलेश जहाँ पूजा गर्दथे । त्यो स्थान नै महिसोथामा दुसाद जातिको तीर्थस्थल मानिन्छ भने आज अनेक धर्मावलम्बीहरू पनि उत्सव मनाउन मेला भरिरहेका छन् । जुरशितलका दिन महोत्वसलाई मेलाको रूपमा मनाउँदै आइएको छ । सिरहाकै पकडियाको राजदरबारमा सलहेश र चुहरमल चौकीदारमा काम गर्दथे । त्यस स्थानमा तरेगनाका राजा महेश्वर भण्डारीकी छोरी दमुना, मालिनी थिई भने राजा सलहेश सिरहाकै मानिक दहमा स्नान गर्दथे ।

उता भारतको पटना जिल्ला अन्तर्गत पर्ने गङ्गा नदीको किनारमा रहेको मोकमाबाट र उत्तरको सिमरीया घाटमा चोहरमलको स्थल रहेको उल्लेख छ । जहाँ पूर्वको हाथीदह र पश्चिमको ताडबर र सोनार गाउँमा अहिले पनि बहुसङ्ख्यक दुसाद जातिकै बस्ती छ । कथाको प्रसङ्गमा खेदन पञ्जियारको नाम आउँछ । जो सधैँ कमला नदीमा माछा मारेर जनकपुर पु¥याउँथे । उनीसँग विवाद भई दुवै घायल भएर आ–आफ्नो घर फर्केको गाथाले राजमहिसोथाको भूगोल देखिन्छ ।

उल्लेखित गाथाहरूमा राजमहिसोथामा बन्न बस्तीमा बाकमुनि बाह्रवर्षसम्म तपस्या गर्दा राजा इन्द्रका आसन हल्लिन थाल्दा इन्द्रले बाकमुनीको तपस्या भङ्ग गर्न एउटा मायावतीलाई पठाए । जसले नाचगान गरी तपस्या भङ्ग गर्दा मुनीले श्राप दिए र पछि श्रापलाई मुक्ति पाउन बाकमुनीले उदययोग गर्ने उपाय बताए । भोलि बिहान ती मायावतीले नारी प्रधान महिसोथागादी स्थापित गरिन् ।

जसको साक्षात् प्रमाण सिरहाका प्रत्येक गाउँ–गाउँमा डिहबारको पूजा हुन्छ भने महिसोथामा अझै पनि डिहबारनीको पूजा हुन्छ । उही महावती स्नान गर्न कमल दहमा एउटा पातमाथि एउटा शिशुको अवतार देखी त्यही बालक राजा शैलेश नामले प्रख्यात भए । र, मायावती मन्दोदरीको रूपमा दोस्रो छोराको रूपमा मोतीराम, तेस्रो बुधेश्वर र चौथो छोरी वनशक्तिकी जन्म दिएकी छिन् । त्यही वनशक्तिकै सतखोलियाका राजा शैनीसँग प्रेमविवाह भएर करिकनहालाई जन्म दियो । जो साह्रै बलशाली थिए । ७ सय हात्तीहरू चराउँथे भन्ने कुरा शैलेश गाथामा उल्लेख छ ।

जात र वर्ण
दुर्भाग्यवश राजा सलहेशलाई दुसाद जातमा गनिन्छ । दुसाद दुःसाध्य शब्दको अपभ्रंश हो । दुःसाध्य अर्थात् कुनै कठिन कार्यमा कहिले पनि नहार्ने योद्धालाई दुसाध भनियो । भने केही इतिहासकारहरूले दुसाद भनेको युगल साम्राटद्वारा प्रयोग गरिने गाली शब्द हो । जसलाई हामी दुसाद जाति भन्दछौं त्यो त सूर्यवंशी राजपुत हुन् । मुगलको आक्रमण भएपछि राजपुतहरू राजस्थान छोड्न बाध्य भए र प्रतिभाशाली महाराणा प्रताप जङ्गल पसे । परिवेशवस जीवन गुजारा गर्न नाम र उपाधि लुकाए र जहाँ–जहाँ स्थानान्तरण भए । त्यसैअनुसार राजपुतका शाखाहरू बनेका छन् । (गहलौत राजपुत ः दुहसाध जाति दर्पण) महाभारतकालमा राजपुत शब्द कतै प्रयोग भएको छैन । क्षेत्रका अधिकारीका रूपमा क्षेत्री हुन् । (रोमिला थापा वंश से राजवंशतक पेज नं. २६)

अङ्ग्रेज शासक लेफ्टीनेन्ट कर्णल टाँड ३० वर्षको भारत भ्रमणमा धेरै राज्य वंशावलीको वर्णन गरेका छन् । जसअनुसार गलहौत राजपुतका २५ शाखा छन् । आहारिया, पाहाडिया, दुसाध, मङ्गोलिया, सिसौधिया, पीपाडा, घोरनीया, भीमला, गाहौर, गोलाई, कलाया, मजरोटा, मजरोपा, ककोट, भोजकर, कोटेया, उहर, सोरा, उरेबा, निरुप, नाटोडिया, नाघोत, कुचेरा, भेडवा र पाहरपुरोहित (द हिस्ट्री अफ राजस्थान)

यसरी १४ औं शताब्दीमा क्यूल नदीको किनारमा लखी सरायमा वीरयोद्धा राणा लाखा सिंहले प्रथम दुसाद शब्दको प्रयोग गरेका छन् । शनैः शनैः दुसाध को अपभ्रंश दोसाद हुन गयो । त्यही दोसाद जातिका १० उपशाखाहरू छन् । मगहीया, सिलौट, कामोर, कुरना, बहलीया, पलीवार, ढाढी, सूर्याहा, मधेशीया र कनौजीया छन् । यसरी दुसाध जाती ब्राहमण, क्षत्रीय, वैश्य र शूद्रको सूचीमा कतै पनि पाइँदैन । किनभने दुसाध्य राजपुतकै एक शाखा हो । (क्षेत्रीय वंश प्रदीप पेज नं. ४०९) उक्त पुस्तकमै गलहौत वंशजको शाखा दोसाध भएको उल्लेख छ । (पेज नं. ८०८) उक्त वंशजको आधारमा दुसाध गहलौतको विशेष विशिष्टताहरू उल्लेख छ ।

१. आदिपुरुष – विवस्मान
२. वंशज – सूर्यवंशी
३. इष्टदेव – सूर्य, अग्नि, शक्ति
४. गोत्र – काश्यप, सूर्यको पिता गहलौत
५. झण्डा – त्रिकोण झण्डामा सूर्य अङ्कित (हाल नेपालको भण्डा झैं)
६. राज्य चिन्ह – शेरमाथि सवार ढाल एवम् तरवार
७. कार्य – शासन सुरक्षा
८. पेशा – वर्तमानमा शुल्न (चौकीदारी)
९. शेष समय – युद्ध अभ्यास शस्त्र परीक्षण योग उपासना, भक्ति पूजा पाठ
१०. कुल देवता – राहु, केतु

यसरी किरातको हारपछि सलहेशका पिता सोमनको मृत्यु भयो र सुरक्षाको क्रममा सलहेश सुहसादको घरमा सरण लिएकाले यिनीहरू सलहेशलाई कुलदेवताको रूपमा पूजा गरिरहेका छन् । यसरी तमाम लोकगाथाको आधारमा पराक्रमी वीरयोद्धा भएकोमा नै मिथिलाका योद्धा राजा सलहेश स्थापित भएका छन् ।