‘शान्ति र शिक्षाको निम्ति सङ्गीत, भाषा र संस्कृतिको निम्ति सङ्गीत’ नारासहित पाँचथरको कुम्मायक गाउँपालिकामा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
 
नववर्ष २०७६ सालको अवसर पारेर सङ्कल्प ब्याण्ड कुम्मायकले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय कला संस्कृतिको संरक्षण र सम्बद्र्धनको लागि भन्दै गाउँपालिकाको केन्द्रमा स्थापना भएको ब्याण्डले नयाँवर्षको अवसर पारेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो ।
 
स्थानीय टीका स्मृति मञ्चमा भएको साँस्कृतिक कार्यक्रममा स्थानीय बाजागाजा र च्याब्रुङ नाचका साथै नृत्य र गायन प्रस्तुत गरिएको थियो । स्थानीय र पाँचथर नाचघरका कलाकारले नृत्य प्रस्तुति गरेका थिए । 
 
गाउँपालिकामा पहिलो पटक जिल्लाकै नमूना ब्याण्ड स्थापना गरी कला र संस्कृतिको संरक्षण गरेको भन्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य मनमाया लावती, उपाध्यक्ष सीता आचार्य वडानम्बर १ का वडाअध्यक्ष देवेन्द्र लावतीलगायतले सङ्कल्प ब्याण्डको उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
 
ब्याण्डले मनोरञ्जनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । विभिन्न समयमा गाउँपालिकामा भारतको दार्जिलिङको ब्याण्डले मनोरञ्जन गराउँदै आएको थियो । तर अहिले सङ्कल्प ब्याण्डको स्थापनापछि यसको अभाव पूर्ति हुने आयोजक संस्थाले जनाएको छ ।