इटहरी/ इटहरी उपमहानगरपालिका –८ गैसारमा बस्दै आएका बलिस्टार पोलले उखुको जुस बेचेरै मनग्य आम्दानी गर्न सफल भएका छन् ।  सडकबाटै उखुको जुस बेचेर उनले राम्रै आम्दानी गर्दैछन् । सानो लगानीबाट शुरु हुने यो व्यापारले दिनको ९ सयदेखि १५ सयसम्म कमाइ हुने उनी बताउँछन् । 
 
गर्मीयाममा उखुको जुसको व्यापार बढ्ने गर्छ । उनी ९ वर्षदेखि इटहरीमा जुसको व्यापार गरिरहेका छन् । २६ वर्षीय युवक उखुको जुस बेचेरै परिवार धानेको बताउँछन् । ‘उखुको जुस बेच्नका लागि दैनिक उखु किनेर ल्याउँदा ५ सय लाग्छ’ –उनी भन्छन् ।  उखुको जुस यो सिजनमा बढी विक्री हुने उनको भनाइ छ । ‘कम मेहनतमै हजारौं कमाइ हुन्छ’ –उनी भन्छन् । गर्मीको सिजनमा उखुको जुस बेचे पनि अन्य समयमा भने विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा अरु व्यवसाय सञ्चालन गर्ने गरेको उनी बताउँछन् । 
 
गर्मीको समयमा जुस बेच्दा व्यापारीको व्यापार बढेको छ भने सर्वसाधारणलाई जुस पिउन पाउँदा शितलता मिलेको छ । पोलको मात्र होइन, यतिबेला इटहरी चौक आसपासका  स्थानहरूमा पनि जुस बेच्न व्यापारीहरूलाई भ्याई नभ्याई छ । गर्मी मौसम शुरु भएसँगै उखुको जुसको व्यापार यतिखेर बढिरहेको बताउँछन् अर्का व्यापारी इटहरी–८ गैसारकै राजेशराज महतो बताउँछन् । इनरुवा र सप्तरीबाट आएको उखुको जुस बनाउने बताउने उनले महिनाको २० देखि ३० हजार कमाइ हुने गरेको छ । 
 
बजारमा उखुको जुसको व्यापार भइरहेको छ । बजारका चोक र सडक छेउछाउमा उखुको जुस बेचेर व्यापारीहरूले मनग्य आम्दानी गर्न थालेका छन् । दिउँसोतिर विभिन्न कामको लागि बजारतिर निस्कने मानिसहरू उखुको जुसतर्फ बढी आकर्षित हुने गरेका छन् । बिहानैदेखि व्यस्त देखिने उखु जुस ठेलाहरूमा राम्रै व्यापार हुने गरेको अर्का ठेला व्यापारी चित्ररञ्जन साह बताउँछन् । १९ वर्षको उमेरमै उनी दिदीबहिनी पढाउन र घरखर्च टार्न मासिक २० देखि ३० हजार रुपैयाँ कमाउँछन् । 
 
अहिले बजारमा धेरै युवा व्यवसायीहरूले उखुको जुसको व्यापार गरिरहेका छन् । इटहरीका विभिन्न पाँच स्थानमा उखुको जुसबाट गर्मी मौसममा रामै्र कारोबार हुने गरेको मोरङ बलियाका सन्तोष कार्कीले बताए । उदयपुर घर भएका उनले अहिले उखुको जुस व्यापार गरेरै परिवार धानेको बताए ।
 
‘आमा, बाबु र छोराछोरी पढाउने आयस्रोत यही हो’ –साउदीमा ५ वर्ष बसेर घर फर्केपछि इटहरीमा उखुको जुस बेच्दै आएका उनले भने, ‘म अब आफ्नै देशमा बसेर दुःख गर्छु ।’ मुलुकमा रोजगारीको अभावको कारण देखाएर सानो आम्दानीका  लागि पनि विदेशिने प्रवृत्ति रहेकोमा दुःखी हुँदै चुन्नुुले आफ्नै देशमा राम्रो आम्दानी गरिरहेको बताए । उखुको जुसको राम्रै व्यापार हुने भएपछि यस प्रति आफ्नो आकर्षण बढेको उनले बताए ।
 
विदेशमा गएर चर्को घाममा दुःख खेपेर काम गर्नुभन्दा यो काम निकै राम्रो भएको उनी सुनाउँछन् । उनले काम सानो र ठूलो नहुने भएकाले आफ्नो व्यापारबाट आफू खुशी भएको बताए । काम नगर्ने, खाली घरमा बस्ने र कामको खोजीमा विदेशतिर जाने प्रवृत्तिले राम्रो आम्दानी हुने मसिना काममा नेपालीभन्दा भारतीयहरू बढी सक्रिय रहेका छन् । गर्मीको मौसममा उखुको जुसको माग धेरै हुन्छ ।
 
उखुको जुस स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको विज्ञहरूको भनाइ छ  । उखुको जुसको व्यापार गरिरहेकाहरूले रोजगारीको लागि विदेश जानुभन्दा आफ्नै देशमा केही गर्न सकिने बताएका छन् । त्यसैले काम ठूलो सानो भनेर विदेशिनुभन्दा आफ्नै देशमा काम गर्ने हो भने आत्मनिर्भर बन्न सकिने एनीहरूको भनाइ छ ।