इटहरी/ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सुनसरीले इटहरीको जनता माध्यमिक विद्यालयले गरेको भर्ना अभियानविरुद्ध आपत्ति प्रकट गरेको छ ।

भर्ना अभियान प्रक्रियामा धाँदली भएको भन्दै नेविसङ्घले आपत्ति जनाएको हो । विद्यालयमा तालाबन्दीसम्म गर्ने चेतावनी दिएका छन् । विद्यालयले शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यममा समेत पठन–पाठन शुरुवात गराउने कुराले यस क्षेत्रका अभिभावक तथा विद्यार्थीहरूलाई खुशी तुल्याएको थियो ।

‘तर विद्ययालयले प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गर्ने निहँुमा निजी विद्यालय पढिरहेका तथा सरकारी विद्यालयमा अध्यापन गराइरहेका शिक्षक तथा कर्मचारीहरूका सन्तानलाई मात्र पास गराइएको पाइयो,’ नेविसङ्घका जिल्ला सभापति मन्दिप भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

सरकारी विद्यालयमा अध्ययन गरिरहेका गरिब र निम्न वर्गका विद्यार्थीहरूलाई भने पढ्नबाट वञ्चित गराइएको कुराले नेविसङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आफूले नियमित रूपमा पढाइरहेका विद्यार्थीहरूमा अङ्ग्रेजी माध्यममा पठन–पाठन नगराउने तर हुने खानेका लागि गरिएको यस्तो विभेदपूर्ण क्रियाकलापको हामीले विरोध गरेको हौ,’ उनले भने । निर्णय तत्काल नसच्याइए नेविसङ्घ कडा भन्दा कडा आन्दोलनका कार्यक्रम लिएर अगाडि बढ्ने तयार रहेको भट्टराईले बताए ।