पाँचथर । तेस्रो वाईवाई पाँचथर गोल्डकपको उपाधि डाँगिहाट फुटवल क्लव मोरङले चुमेको छ । सदरमुकाम फिदिममा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भारतको दार्जिलिङ युनाइटेड क्लवाई ३–१ गोलअन्तरले निरास पार्दै मोरङले उपाधि उचालेको हो ।

फिदिम माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा आठौं मिनेटमा हेमन्त थापा मगरको गोलबाट मोरङले अग्रता बनाएको थियो । अरुन लिम्बूको पासमा हेमन्तले गरेको प्रहारले जाली चुम्दा मोरङले सुरुवात अग्रता बनाउन सफल भयो । ३७ औं मिनेटमा दार्जिलिङका लागि करण राईले बराबरी गोल फर्काउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो । खेलको पहिलो हाफ १–१ को बराबरीमा सकियो । ५२ औं मिनेटमा मोरङका लागि आर्मान भिदुमले गोल गर्दै टिमलाई अगाडि बढाए ।

५६ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई ३–१ को जीत दिलाउँदा पाहुना टोलि दार्जिलिङ उपबिजेतामा चित्त बुझाउन बाध्य भयो ।

उपाधिसँगै मोरङले नगद चार लाख प्राप्त ग¥यो । दार्जिलिङले नगद दुई लाखमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ठ खेलाडि मोरङका कप्तान बिक्रम लिम्बू बने । उनले टिभिएसको स्कुटर पाए । प्रतियोगिताको उत्कृष्ठ गोलकिपर मोरङका दिनेश थापा मगर, उत्कृष्ठ स्ट्राइकर सञ्जोग राई, उत्कृष्ठ कोच याकुब राई, सर्बाधिक गोलकर्ता अर्मान भिदुम बने । त्यस्तै उत्कृष्ठ डिफेन्डर दार्जिलिङका दिवश लिम्बू, उत्कृष्ठ मिडफिल्डर वाङदेल तामाङ र राइजिङ प्लेयर आयोजक पाँचथर क्लवका हेमन्त दर्नाल बने । सबैले दश–दश हजार रुपैंयाँ प्राप्त गरे ।

बिजयी खेलाडिहरुलाई तेस्रो वाईवाई पाँचथर गोल्डकप फुटवल प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले पुरस्कार वितरण गरेका थिए । गत २३ चैतदेखि सुरु भएको प्रतियोगितामा दुई वटा ए डिविजन क्लव सहित भारत र नेपालका गरी दश टिमको सहभागिता रहेको थियो । आउँदो संस्करणमा प्रतियोगितालाई अझ उत्कृष्ठ बनाउदै लगिने आयोजक पाँचथर क्लवका अध्यक्ष निशान शिवाकोटीले बताए ।