धनकुटा/  महालक्ष्मी नगरपालिका–६ लेगुवामा रहेको करिब अढाइ सय वर्ष पुरानो नागेश्वर शिवालय मन्दिरको लामो समयपछि स्थानीय जनप्रतिनिधिको पहलमा जीर्णोद्धार गरिएको छ । 
 
वि.सं.१८४२ ताका राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्वयम आफैं आई स्थानीय विराज खड्काको पहलमा करिब २ सय ३३ वर्ष पुरानो नागेश्वर शिवालय तथा दुग्धनाथ महादेवको मन्दिरको निर्माण गरेको इतिहास रहेको स्थानीयको भनाइ छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि महालक्ष्मी नगरपालिका कार्यालयले जिर्णोद्धारको काम अघि बढाएको छ ।  
 
महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले करिब ३ सय वर्ष पुरानो शिवालय नागेश्वर गुठीको नाममा परिचित रहेको भए पनि उचित संरक्षणको अभावमा मन्दिर जीर्ण हुँदै गएकाले जीर्णोद्धार गरिएको बताए । नेपालको पुरात्वतिक विभागको सूचीमा रहेको शिवालयको उचित प्रचारप्रसार हुन नसक्दा ओझेललमा परेको बताएका छन् । नगर प्रमुख नेपालले महालक्ष्मी नगरपालिकाको प्रमुख धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न गुरुयोजना बनाएर काम थालिएको जानकारी दिए । 
 
उनले शिवालयभित्र रहेको जलकुण्ड, दुग्धकुण्ड र पेटी निर्माणका लागि चालु आ.व.मा ४ लाख रुपैयाँ खर्च गरिसकेको बताए । नगरपालिकाको पहलमा जिल्ला भूसंरक्षण तथा जलाधार डिभिजन कार्यालय धनकुटाबाट शिवालयको जीर्णोद्धारका लागि ११ लाख रुपैयाँ प्राप्त भएको बताए ।
 
४ रोपनी क्षेत्रफलमा फैलिएको नागेश्वर शिवालय तथा दुग्धनाथ महादेवको मन्दिर वरिपरि कम्पाउण्ड वाल, तारबार, ग्याबिङ वाल, टेवा पर्खाल लगाउन ११ लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । मन्दिर परिसरमा वातावरण संरक्षणका लागि यसै आर्थिक वर्षमा वृक्षरोपण कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ ।
 
जसका लागि लेगुवाको हावापानी सुहाउँदो सिसौ, खयर, सिरिसलगायत विभिन्न प्रजातिका एक ट्याक्टर विरुवा भू–संरक्षण तथा जलाधार डिभिजन कार्यालय धनकुटाले सहयोग गर्ने गरी सम्झौता भएको नगर प्रमुख नेपालले बताएका छन् ।