धरान  / भूमाफियाले बालुवाटार कब्जा जमाएको भन्दै बालुटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडी रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन भनेर विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाको नेतृत्वमा नेता, कार्यकर्ता पुगेका थिए ।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधिश निवास र सभामुखको निवास पछाडी रहेको सरकारी जग्गा भूमाफियामार्फत् सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएको समाचार सार्वजनिक भएको थियो ।
सोही विरोधमा उनीहरु बालुवाटार पुगेका थिए । उनीहरुले उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको थियो । देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाँडने अभियान अन्तर्गत आज बालुवाटार पुगेको दलका अध्यक्ष थापाले बताए ।
दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको एक सय १४ रोपनी सो जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।