विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा उपेक्षामा पर्दै आएको छ । अहिलेसम्मका माध्यमिक तहका कुनै पनि पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षालाई राख्ने जमर्को गरिएको छैन । अझ वर्तमान पाठ्यक्रम प्रारूपले त आधारभूत तहमा पनि नैतिक शिक्षालाई खुम्च्याउने प्रयत्न गरेको देखिन्छ । निम्न माध्यमिक तहमा ५० पूर्णाङ्कको नैतिक तथा नागरिक शिक्षा पठनपाठन हुँदै आएकामा अहिलेको पाठ्यक्रम प्रारूपले आधारभूत तहमा पाँच पाठ्यघण्टाको ‘सामाजिक अध्ययन र आचरण शिक्षा’ समावेश गरेको छ, जसमा दुई भिन्न विषयलाई एकै ठाउँमा संयोजन गरी नैतिक÷आचरण शिक्षालाई गौण बनाउन लागेको प्रष्ट छ ।

dr. mahananda timsina

नैतिक धरातल कमजोर हुँदै गएको नेपाली समाजमा आचरण शिक्षालाई बढी प्राथमिकता दिनु जरुरी छ । राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) ले विद्यार्थीहरूको चरित्र निर्माण र श्रमप्रति आदरको भावना विकसित गर्ने उद्देश्यले निमावि तहको पाठ्यक्रममा राखेको नैतिक शिक्षाको निरन्तरता अहिलेसम्म पनि देखिन्छ तर माथिल्लो तहसम्म यसलाई समावेश नगर्नाले र यसको प्रायोगिक पक्षलाई महत्त्व नदिनाले हरेक क्षेत्रमा नैतिकता हराउँदै गएको छ । अहिले कक्षा आठसम्म निर्धारित नैतिक शिक्षाले प्रायोगिकतालाई अवलम्बन गर्न नसक्दा शिक्षण निष्प्रभावी बनेको देखिन्छ ।

आजका विद्यार्थी भोलिका अभिभावक हुन्, राष्ट्र निर्माता हुन् र राज्य सञ्चालनका कुशल प्रशासक हुन् । त्यसैले नैतिकता र कर्तव्यनिष्ठताबाट विद्यार्थी ओतप्रोत हुनुपर्छ । घोकेर कक्षा पार गर्ने नैतिक शिक्षा होइन, जीवनमा इमानदारिता, विनम्रता र व्यावहारिकता सिकाउने नैतिक शिक्षाको खाँचो छ । नैतिकता केवल उत्तरपुस्तिकामा होइन, व्यक्तिको आचरणमा देखिनुपर्दछ । विद्यार्थीहरूमा सच्चरित्रताको विकास गर्न शिक्षक र अभिभावकको आचरणसमेत कारक बन्छ । उपदेशक आफैं बेइमान, कर्तव्यच्युत र सदाचारको पथबाट भ्रष्ट भएमा विद्यार्थीलाई नैतिकताको पाठ घोकाउनु निरर्थक हुन्छ ।

पारिवारिक सद्भावलाई भुलेर हामी सामाजिक सञ्जालमा निमग्न छौं । सुखदुःखका कुराहरू आदानप्रदान गर्ने अभिप्रायले आफन्त सम्मीलनको उत्कट इच्छा राखेर आएका पाहुनालाई हामी बेवास्ता गर्छौं; आफू मोबाइलका अनावश्यक गेम र फेसबुकमा हराउँछौं । मानिसमा अहिले स्वार्थीपन बढ्दै गएको छ, लोभानिपापानि फस्टाउँदा छन् । क्रोध र असहिष्णुता हिंसात्मक बन्दै गएका छन् । ‘वसुधैव कुटुम्बकम्’ को भावना कमजोर बनेको छ ।

माता, पिता, गुरु एवम् अतिथिहरूलाई देवतासमान ठान्नुपर्छ भन्ने सनातनदेखिको संस्कारलाई तिलाञ्जली दिन लागिएको छ । हाम्रा धर्म र संस्कार पाश्चात्य संस्कृतिका सिकार बन्दै गएका छन् । हामीलाई नेपाली मौलिकता झल्काउने साझा नैतिक शिक्षाको खाँचो छ । धार्मिक, नैतिक चेतना विकास गर्ने उद्देश्यले सञ्चालित गुरुकुल, गुम्बा, मदरसा आदि शिक्षामार्फत भने विद्यार्थीमा शिक्षा, सीप र आचरणलाई परिपूरक रूपमा शिक्षण गर्ने प्रयास गरिँदै आएको देखिन्छ ।

समृद्ध नेपाल निर्माण गर्न हरेक नागरिकमा मानवीय मूल्य, मान्यता, नागरिक कर्तव्य, अनुशासन र सकारात्मक चिन्तनको खाँचो छ । परिवार, समुदाय र राष्ट्रप्रति सम्मानको भावना रहनु आवश्यक छ । आज हरेक जाति, धर्म, संस्कृति, सम्प्रदाय र पेसाप्रति इज्जत गर्न सिकाउने शिक्षा चाहिएको छ । दिनप्रतिदिन मौलाउँदै गएका हत्या, हिंसा, बलात्कारजस्ता जघन्य आपराधिक घटनाहरूलाई निर्मूल पार्ने संस्कार समाजलाई सिकाउनु छ । लागूपदार्थ दुव्र्यसनमा निमग्न बनेका युवावर्गलाई नैतिकताको पाठबाट सन्मार्गमा उन्मुख गराउनुछ ।

नेपाली समाजमा सत्य, श्रद्धा, शान्ति, सद्भाव र सदाचारको शङ्खघोष गर्नुछ । हरेक नागरिकबाट रिस, ईष्र्या, घमण्ड र प्रतिशोधको भावना हटाई सबैप्रति समभाव राख्ने आदर्श व्यक्ति बन्न प्रोत्साहित गर्ने शिक्षाको जरुरी छ । नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्तअन्तर्गत श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक, सांस्कृतिक मूल्यहरूको विकास गर्ने उद्देश्य राखिएको छ । संविधानको भावनालाई आत्मसात् गर्ने शिक्षा राज्यले दिन सकेको छैन । नेपाली मौलिकता छाडी पश्चिमी संस्कृतिमा रमाउँदै गरेका नयाँ पुस्तालाई हामीले नेपाली संस्कार दिन सकेका छैनौं । सत्य, न्याय र इमानदारिताको पक्षमा अडिग रहनेलाई समाजले मुक्तकण्ठले सम्मान गर्न सकेको छैन, धूर्तता र मूर्खतालाई निरुत्साहित गर्न सकेको छैन ।

भाषा सिकाउनु र देश विदेशका वस्तुस्थिति बुझाउनुमात्र शिक्षा होइन, शिक्षाले विद्यार्थीहरूलाई आचरण सिकाउनु पर्छ र आफू विनयशील भई सुसंस्कृत समाज निर्माणको मार्गनिर्देशन गर्नुपर्छ । शिक्षामा ज्ञान, सीप र आचरणको समन्वय हुनुपर्छ । समाजमा अनुशासनविनाको ज्ञान र सीपले कदापि महत्त्व पाउँदैन । विद्यालयहरूले अहिले कमजोर नैतिकता भएका जनशक्ति उत्पादन गरिरहेका छन् । नैतिकताको अभावमा राजनीतिदेखि विभिन्न पेसाहरूसमेत कलङ्कित बन्दै गएका छन् । नैतिकताले विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी ज्ञान दिलाउँछ, यसले धार्मिक सहिष्णुता र एकअर्काबीच आदर र सम्मान गर्न सिकाउँछ ।

विद्यार्थीहरूमा मानवतावादी, क्षमाशील र परोपकारी भावना विकसित गर्नुपर्छ, उनीहरूलाई ठूलो मान्छे बन्नेभन्दा असल मान्छे बन्ने शिक्षा दिनु आजको आवश्यकता हो । अहिले देश नैतिकताको अभावमा गुज्रिरहेको छ । राज्य संयन्त्रका जिम्मेवार व्यक्तिहरू गैरजिम्मेवार बनेका देखिन्छन् । हरेक क्षेत्रमा आर्थिक अनियमितता भएको सुनिन्छ । यस्तो विषम अवस्थामा विभिन्न पेसा, व्यवसाय र निकायमा आबद्ध हरेक नागरिकलाई जनस्तरबाट वा राज्यस्तरबाट नैतिक शिक्षासम्बन्धी विभिन्न प्रशिक्षण वा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सहभागी गराउनुपर्छ र नैतिकताको कदर हुनेमा विश्वस्त बनाउनुपर्छ । कुनै पनि देशको उत्थान र पतन त्यस देशका नागरिकको नैतिकतामा निर्भर रहन्छ । नीतिनियमलाई एकातिर पन्साई स्वार्थ अनुकूल हुने गरेका कामले देशलाई समुन्नतिभन्दा अवनतितर्फ धकेलिरहेको हुन्छ ।

नैतिकता नागरिकको आत्मा हो, शिक्षित, सुसभ्य र समृद्ध मुलुकको पहिचान पनि हो । हाम्रो समाजमा नैतिकता क्षीण हुँदै गएको छ । समाजमा आपराधिक क्रियाकलापहरू व्यवसायका रूपमा फस्टाउँदै जान लागेका छन्, यस्ता विसङ्गति नियन्त्रण गर्न सरकारले नैतिक शिक्षाको प्रभावकारितातर्फ ध्यानदिनु आवश्यक छ । यसको पुनरुत्थानका लागि विद्यालय तहका हरेक कक्षाहरूमा नैतिक शिक्षा विषय समावेश गरी यसको पठनपाठनलाई प्रभावकारी बनाउनुपर्छ । आदर्श समाजनिर्माणका लागि प्रत्येक नागरिकको मनमुटुमा मानवीय मूल्यमान्यताको सञ्चार गराउनुपर्छ । सम्मानित नैतिक शिक्षाले मात्र देशलाई समुन्नत र समृद्ध बनाउँछ ।
उप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान
फोन नं ९८४२०८२०११